
- रौतहटको कटहरियामा ७५ वर्षीया तेती खातुन आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
- प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा १८ वर्षीय नाति साहिद शेखलाई पक्राउ गरेको छ।
- नातिले नै हजुरआमाको हत्या गरेको खुलेपछि प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको छ।
काठमाडौ -रौतहटको कटहरिया नगरपालिकामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन १४ गते साँझ करिब ६ बजे कटहरिया नगरपालिका–३ बडर्वाकी ७५ वर्षीया तेती खातुन आफ्ना माइला छोरा शेख निमुदिनको टालीको छानो भएको घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
उनी घरभित्रको खाटमा मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय गरुडासहितको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि प्रहरीले मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
अनुसन्धानबाट साहिदले आफ्नै हजुरआमाको हत्या गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस
