काठमाडौ – शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र पूरा पाठ ।

महोदय,
यो पत्र कुनै शीतल वातानुकूलित कोठाबाट होइन—सडकको तातो धुलो, नाराको आवाज, र आँसु गन्हाएको आत्मसम्मानको गहिराइबाट लेखिएको हो। म यहाँ केवल एउटा नाम होइन, हजारौं शिक्षक र कर्मचारीहरूको साझा पीडाको स्वर लिएर प्रस्तुत भएको छु। त्यो स्वर, जसले ‘क’ लेख्न सिकाएको थियो, आज ‘कु’ भनेर न्याय खोज्न बाध्य भएको छ।
महोदय,
तपाईंहरूको भाषामा हामी ‘राष्ट्र निर्माता’ हौं रे। तर विडम्बना, आज हामी ‘आन्दोलनकारी’को रूपमा चिनिन बाध्य छौं। हामी हिजो बालबालिकालाई भविष्य देखाउँदै थियौं, आज सडकमा सरकारलाई जिम्मेवारी सम्झाइरहेका छौं। तपाईंहरूले शिक्षा सुधारका योजना बनाउनुहुन्छ सिंहदरबारमा, हामी चाहिँ स्थायीत्वका मागसहित विद्यालयका ढोका बन्द गर्न बाध्य छौं। तपाईंहरूले नीति बनाउनुहुन्छ, हामी पीडा बाँडिरहेका छौं।
सरकारलाई शिक्षकको तलब दिँदा ढुकुटी खाली हुन्छ भन्ने चिन्ता हुन्छ, तर आन्दोलन दबाउन लाठी र अश्रुग्यास प्रयोग गर्न बजेटको अभाव देखिँदैन। के यस्तै हुन्छ शिक्षा र शिक्षकप्रति न्याय? के शिक्षालाई भारी देख्ने, तर शिक्षकप्रति अविश्वास देखाउने शासन प्रणाली नै ‘शिक्षा नीति’ हो?
महोदय,
हामी नारा लगाउने परम्परामा पसेका थिएनौं। हामी त कलम चलाउने वर्ग हौं। तर जब कलमले सुन्न नसक्ने सरकार देख्यौं, तब प्लेकार्ड समाउन बाध्य भयौं। आज प्रश्न उठ्छ—कलम बुझ्ने सरकार तपाईंहरूको हो कि हाम्रो?
के शिक्षकको जीवन यति सस्तो छ कि नीति बनाउनेहरूले तिनीहरूलाई पटक–पटक बिर्सन पाउँछन्? हामीलाई दुःख छ कक्षा छुटेकोमा, तर अब हाम्रो कर्मभन्दा अस्तित्वको लडाइँ ठूलो भएको छ।
अन्त्यमा,
हामी भन्न चाहन्छौं— > “शिक्षकको धैर्य असीमित हुन्छ,
तर जब राष्ट्र निर्माण गर्ने हात बाँधिन्छन्,
राष्ट्रकै मुटु चस्किन्छ ।”
हाम्रो अन्तिम प्रश्न– शिक्षा सरकारको प्राथमिकता हो कि केवल चुनावी नाराको उपकरण? यदि साँच्चै शिक्षामा मूल्य दिन चाहनुहुन्छ भने, पहिले शिक्षकको आत्मसम्मानमा मूल्य दिनुहोस्।
धुलोमा लोटिएको आत्मसम्मानका तर्फबाट,
एक आन्दोलनरत शिक्षक
