
- गएराति देशका मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि भारी वर्षा भएको छ।
- धादिङको गजुरीमा सबैभन्दा धेरै ८० मिलिमिटर वर्षा मापन गरिएको छ।
- आज देशका धेरै प्रदेशका पहाडी र तराई भू-भागमा भारी वर्षाको सम्भावना छ।
काठमाडौ – देशका मध्य र पूर्वी क्षेत्रमा गएराति पानी परेको छ ।

केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक/दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा ८० मिलिमिटर मापन भएको छ ।
बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
