
- काङ्ग्रेस नेता आङदेम्बेले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि अन्तर्राष्ट्रिय टोली परिचालन गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको छ।
- उहाँले सडक सञ्जाल जोड्न सात स्थानमा बेलीब्रिज राख्न र जिल्लास्तरमा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाउन सुझाव दिनुभएको छ।
- राहत वितरणमा स्थानीय तहसँग समन्वय बढाउन र नदी क्षेत्रमा तत्काल तुइनको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको छ।
काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई नौबुँदे माग बुझाउनुभएको छ ।

केही बाढी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनुभएको हो । उहाँले सुरुङ, भग्नावशेष वा अन्य ठाउँमा नागरिक फसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिनेबारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाइका कारण केही ढिलाइ हुन गएको बताउनुभयो । आफूले लिखित रूपमै उद्धार, सडक पुनः सञ्चालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको काङ्ग्रेस सांसद आङदेम्बेले बताउनुभयो ।
क्षतिग्रस्त बनेका कैयौँ पुलहरूमध्ये तत्काल कम्तीमा ७ ठाउँमा बेलीब्रिज जडान गर्न उहाँको सुझाव छ । रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले माग गर्नुभएको छ ।
उद्धार तथा राहतमा पालिकासँग सङ्घीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गर्न र त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्नसमेत आङदेम्बेको माग रहेको छ।
