
- हप्तामा पाँच दिन मात्र अदालत खुल्दा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको छ।
- अग्रधिकार प्राप्त मुद्दाहरूको चापले गर्दा काम व्यवस्थापनमा निकै चुनौती थपिएको छ।
- समस्या समाधानका लागि विभिन्न सरोकारवाला निकायसँग नियमित छलफल भइरहेको छ।
काठमाडौ – सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनुभएको छ ।

कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो ।
न्यायाधीश पौडेलले थुनुवा मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शिघ्र किनारा लगाउनुपर्ने ‘अग्रधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको उल्लेख गर्नुभयो ।
मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अत्यधिक कार्यबोझ र सिमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो ।
पुराना मुद्दाहरूलाई छिटो फर्छ्यौट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुङ्ग्याउन अदालत प्रतिवद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
