
- प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर २२९ मत ल्याएर निर्वाचित भएकी छन्।
- मतदान प्रक्रियामा राप्रपाकी उम्मेदवारले कम मत पाएकी थिइन् भने एमाले तटस्थ बसेको थियो।
- ठाकुरले आफ्नो कार्यकालमा मधेसमा व्याप्त बालविवाह र दाइजो प्रथाको अन्त्यलाई मुख्य प्राथमिकता दिने बताएकी छन्।
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा भएको मत विभाजन प्रक्रियामा ठाकुरले २२९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। मत विभाजनका क्रममा उनको विपक्षमा ५ मत परेको थियो। उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनलाई भोट नहाली ३७ जना भने तटस्थ बसे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठाकुरलाई समर्थन गरे पनि राप्रपाले उम्मेदवारी फिर्ता नलिएपछि मतदान प्रक्रिया मत विभाजनमार्फत सम्पन्न गरिएको हो। एमाले तटस्थ बसेको थियो । ठाकुर श्रम संस्कृति पार्टीकी प्रतिनिधि सांसद हुन्।
यसअघि हर्क साम्पाङ धनुषा पुगेका क्रममा उनीसँग पहिलो पटक भेट भएको बताइन्छ । सोही भेटपछि उनी श्रम संस्कृति पार्टीको चुनावी अभियानमा सक्रिय भएकी थिइन् र पछि मधेसी महिला क्लस्टरबाट समानुपातिकतर्फ सिफारिस भएकी थिइन् ।
संसद प्रवेशपछि उनले मधेसमा व्याप्त बालविवाह र दाइजो प्रथाको अन्त्यलाई प्राथमिकता दिने बताएकी छन् । उनका अनुसार १६ वर्ष नपुग्दै हुने बालविवाह र सामाजिक कुरीतिहरू अन्त्य गर्न राज्यले कडाइ गर्नुपर्ने आवश्यकता छ ।
