
- अर्घाखाँचीको साना किसान कृषि सहकारीले मृतक सदस्य गुनकला खत्रीको परिवारलाई १० लाख १० हजार रुपैयाँ ऋण बिमा रकम हस्तान्तरण गरेको छ।
- सदस्यले १४ हजार ८५० रुपैयाँ प्रिमियम तिरेकोमा बिमामार्फत ठूलो आर्थिक राहत पाएपछि परिवारले सहकारीप्रति कृतज्ञता व्यक्त गरेका छन्।
- सहकारीले सदस्यको सुरक्षा र आर्थिक सशक्तीकरणका लागि ऋण बिमा जस्ता सुविधाले संकटको समयमा ठूलो सहयोग पुग्ने बताएको छ।
अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड, नरपानीले आफ्नी एक शेयर सदस्यको निधनपछि ऋण बिमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ।

समूह नं. ३ की शेयर सदस्य गुनकला खत्रीले मिति २०८० असार २४ गते संस्थाबाट रु. १० लाख ऋण लिएकी थिइन्। उक्त ऋणको बिमा Citizen Life Insurance मार्फत गरिएको थियो।
मिति २०८२ चैत्र ३ गते गुनकला खत्रीको असामयिक निधन भएपछि बिमा बापतको रु. १० लाख तथा काजक्रिया खर्च रु. १० हजार गरी जम्मा रु. १० लाख १० हजार बराबरको चेक मिति २०८२ चैत्र २४ गते उनका छोरा सुदन खत्रीलाई हस्तान्तरण गरिएको हो।
संस्थाका प्रबन्धक सरस्वती आचार्य र कम्प्युटर अपरेटर प्रकाश महत्राले संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरेका हुन्।
गुनकला खत्रीले बिमा प्रिमियम स्वरूप रु. १४ हजार ८५० मात्र जम्मा गरेकी थिइन्। न्यून प्रिमियममा ठूलो राहत प्राप्त भएको भन्दै मृतकका छोरा सुदन खत्रीले सहकारीप्रति आभार व्यक्त गरेका छन्।
“मिति २०८२ असोज १८ गते बुवाको मृत्यु भयो। त्यसको पीडा सेलाउन नपाउँदै चैत्र ३ गते आमालाई पनि गुमाएँ। यस्तो कठिन अवस्थामा आर्थिक अभाव झेलिरहेका बेला सहकारीबाट प्राप्त रु. १० लाख १० हजारको चेकले ठूलो सहारा दिएको छ। साना किसान कृषि सहकारी संस्था नरपानी हाम्रो लागि अभिभावकजस्तै बनेको छ,” सुदन खत्रीले भावुक हुँदै भन्नुभयो।
सहकारी केवल बचत र ऋण दिने संस्था मात्र होइन, सदस्यहरूको जीवनसँग जोडिएको भरोसाको आधार हो। यस्तो दुःखद घडीमा बिमा सुविधा मार्फत राहत दिन सक्नु हाम्रो जिम्मेवारी र कर्तव्य रहेको संस्थाका प्रबन्धक सरस्वती आचार्यले बताउनुभयो।
सामान्य प्रिमियममा सदस्यहरूले ठूलो आर्थिक सुरक्षा पाउन सक्ने भएकाले ऋण बिमा अत्यन्तै उपयोगी व्यवस्था हो। यसले सदस्य र उनका परिवारलाई संकटको समयमा ठूलो सहयोग पुर्याउने कम्प्युटर अपरेटर प्रकाश महत्राले बताउनुभयो।
हाल संस्थामा १ हजार ८९५ जना शेयर सदस्य रहेका छन्। सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकाका विभिन्न वडाका सदस्यहरू आवद्ध रहेको यस सहकारीले पशुपालन, कृषि पेशा लगायतका क्षेत्रमा सदस्यहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियतपूर्ण ऋण प्रदान गर्दै आएको छ।
सहकारीले “एकका लागि सबै र सबैका लागि एक” भन्ने मूल भावनालाई आत्मसात् गर्दै सदस्यहरूको आर्थिक सशक्तीकरण र सामाजिक सुरक्षामा योगदान पुर्याउँदै आएको जनाएको छ।

