काठमाडौ – नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। निर्वाचन समितिले आज बिहान ८ बजेदेखि निर्वाचनका कार्यक्रम पुनः सुरु हुने जानकारी दिएको छ।

यसअघि गएराति ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि मनोनयन दर्ताको प्रक्रिया प्राथमिकतामा राख्दै मतदान आजका लागि सारिएको थियो।
समितिका अनुसार आज मनोनयन, आवश्यक जाँच तथा मतदानसम्बन्धी सम्पूर्ण प्रक्रिया तय कार्यतालिकाअनुसार अघि बढाइनेछ।
मंगलबार सम्पन्न बन्दसत्रले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको विधान संशोधन तथा राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत रूपमा पारित गरेको थियो।
सोही बन्दसत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्। विशेष महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व चयन हुने भएकाले काँग्रेस वृत्तमा चासो बढेको छ।
