मुगु — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मुगुले जिल्लाबाट ७ जनाको नाम सिफारिस गरेको छ। बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले संगठनगत सन्तुलन र स्थानीय नेतृत्वको सुझावका आधारमा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा तर्फका उम्मेदवार सिफारिस गरेको हो।

प्रत्यक्ष तर्फका सिफारिस प्रतिनिधि सभा ‘क’ क्षेत्रका लागि जिल्ला कांग्रेस सभापति तथा पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, पूर्व जिल्ला सभापति खडकबहादुर शाही, महिला तर्फ रमाइली रावल को नाम सिफारिस गरिएको छ।
ऐनबहादुर शाही ठकुरी यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन् भने पूर्व सभापति खडकबहादुर शाही पनि लामो समयदेखि संगठनसँग सक्रिय रूपमा जोडिँदै आएका छन्। महिला सहभागितालाई बढावा दिन रमाइली रावलको नाम प्रस्ताव गरिएको बैठक स्रोतले जनाएको छ।
समानुपातिक तर्फका सिफारिस समानुपातिक सूचीका लागि ‘कालोपोथी’ फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा, केशरकला मल्ल का नाम केन्द्रमा पठाइने निर्णय गरिएको छ।
फिल्म निर्देशक मीन भाम सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व मानिन्छन् भने तिरुवा र मल्ल पनि क्षेत्रीय संगठनमा लामो समयदेखि कार्यरत छन्।
राष्ट्रिय सभा तर्फ राष्ट्रिय सभाको लागि कांग्रेस नेता तथा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस गरिएको छ। जिल्ला नेतृत्वका अनुसार अनुभव, योगदान र संगठनमा दिएको भूमिकाका आधारमा मल्लको नाम सर्वसम्मत रूपमा अघि सारिएको हो।
निर्वाचन मिति नजिकिँदै गर्दा कांग्रेस मुगुले गरेको यो सिफारिसलाई जिल्लामा पार्टीको चुनावी तयारी औपचारिक रूपले सुरु भएको संकेतका रूपमा हेरिएको छ। अब अन्तिम निर्णय भने केन्द्रिय समितिले गर्ने जनाइएको छ ।

