अर्घाखाँची। जेनजी आन्दोलनपछि सरकारले मतदाता नामावली अद्यावधिक गर्ने अभियानलाई तीव्र बनाउँदै असोज १० गतेदेखि कार्तिक ३० गतेसम्म दर्ता अवधि खुला गरेको थियो । माग र आवश्यकता बढेपछि सरकारले पाँच दिन थपेर मङ्सिर ५ गतेसम्म दर्ता गर्न सकिने व्यवस्था गर्यो । तर दर्ता प्रक्रिया सुरुआती चरणमा सहज थिएन ।

सुरुमा अनलाइनमार्फत् फाराम भरिसकेपछि बायोमेट्रिक प्रमाणिकरणका लागि जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । टाढा-टाढाका गाउँमा बस्ने नागरिकका लागि सदरमुकाम पुगेर दर्ता गर्नु समय, खर्च र यातायात सबै हिसाबले चुनौतीपूर्ण हुनुपर्ने अवस्था थियो । धेरैले दर्ता गर्ने इच्छा भएर पनि प्रक्रिया पूरा गर्न नसकिरहेका थिए ।
यही कठिन समयमा बुटवल, देविनगरका ३३ वर्षीय युवा निर्मल ज्ञवाली हजारौँ नागरिकका लागि भरपर्दो सहारा बने । प्रारम्भिक चरणमा इन्टरनेट नहुने, फारम बुझ्न नजाने, बुझेर पनि भरिसकेपछि कार्यालय पुग्न समस्या पर्ने नागरिकका लागि उनले करीब २,४०० जनाका फाराम अनलाइनमार्फत भरिदिए ।
कहिले देवीनगर चौपारी, कहिले होराइजनचोक, कहिले योगी कुटी-जहाँ आवश्यक पर्यो त्यहीँ पुगेर फर्म भर्ने सहजीकरण गर्दै उनी अभियानमा सक्रिय भए । कहिलेकाहीँ अनलाइन साइट नै बन्द हुने, फाराम नपठिने, कागजपत्र अपूर्ण हुनेजस्ता समस्या आए पनि उनले काम रोकेनन् ।
पछि सरकारले मोबाइलबाटै राष्ट्रिय परिचयपत्र नम्बर राखेपछि मतदाता नामावली अटोमेटिक दर्ता हुने व्यवस्था लागू गर्यो । यसले हजारौँ नागरिकका लागि दर्ता प्रक्रिया अत्यन्त सहज बनायो । यो चरण सुरु भएपछि निर्मलले २,९३७ जनाको नाम NIN मार्फत दर्ता गराइदिए ।
यसरी उनले कुल ५,३३७ नागरिकलाई मतदाता नामावलीमा सूचीकृत गराउन सफल भए यो कार्य एक व्यक्तिद्वारा सम्पन्न भएको सोच्दा पनि असाधारण छ । रुपन्देही क्षेत्रमा विशेषगरी बुटवल सहरमा गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, प्युठान, स्याङ्जालगायतका धेरै जिल्लाहरूबाट अध्ययनको लागि धेरै विद्यार्थीहरू आउने गर्छन् । विभिन्न कामको सिलसिलामा पनि मानिसहरू उल्लेखनीय मात्रामा हुने गर्छन् ।
अर्घाखाँचीका युवक ध्रुव सुनार दर्ता गर्न नपाएका हजारौँमध्ये एक थिए । कामको कारण इन्टरनेट एकदमै कमजोर अवस्थामा चल्थ्यो, सदरमुकाम पुग्न पनि घरको कामले गर्दा झन् कठिन । तर निर्मल सरले सामाजिक सञ्जालमार्फत अभियानको सूचना सार्वजनिक गरेपछि ध्रुवले कागजपत्र पठाए र केही बेरमै दर्ता पूरा भएको जानकारी पाए । ध्रुवले उक्त कामलाई एक अनुकरणीय काम भनेर प्रशंसा गरे।
निर्मलले मतदाता दर्तालाई केवल तकनीकी सेवा नभई नागरिक अधिकारको सुरक्षा मान्ने गरेको बताए । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा युवापुस्तामा असन्तुष्टि बढ्दो रहेको उल्लेख गर्दै उनले देशलाई सक्षम नेतृत्व चाहिएको हो भने त्यसको आधार नै युवा पुस्ता हुने धारणा व्यक्त गरे ।
युवाहरू नै मतदानबाट वञ्चित हुँदा परिवर्तनको आधार कमजोर हुने बताउँदै ग्रामीण क्षेत्रका कुनाकुनामा रहेका युवाहरूको नाम दर्ता हुनुपर्नेमा आफू विशेष रूपमा केन्द्रित भएको उनले जानकारी दिए । निर्मल ज्ञवाली सामाजिक कार्यका साथै शिक्षण पेशामा आबद्ध छन् ।

