नयाँ दिल्ली । नेपाल र भारतबीच रेलमार्गमार्फत कार्गो ढुवानी विस्तार गर्ने नयाँ सम्झौता भएको छ।

भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच नयाँदिल्लीमा भएको बैठकमा उक्त सम्झौता सम्पन्न भएको हो। बैठकले दुई देशबीचको पारवहन सन्धिका प्रावधान संशोधन गर्दै रेलमार्गबाट कार्गो ढुवानी प्रणालीलाई थप सुदृढ बनाउने सहमति गरेको छ।
नयाँ संशोधन अनुसार अब कोलकाता/विशाखापटनम बन्दरगाहबाट विराटनगर–जोगमनी र नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेलमार्ग र सडकमार्ग प्रयोग गरी सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसअघि यी नाकाबाट चार प्रकारका बल्क सामान मात्र ढुवानी गर्न पाइन्थ्यो। नयाँ प्रावधानले सबै प्रकारका वस्तु ढुवानी गर्न अनुमति दिएपछि नेपालको पारवहन लागत र समय दुवै घट्ने तथा व्यापार सहजीकरणमा ठूलाे योगदान पुग्ने विश्वास गरिएको छ।
उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतका अनुसार यो सम्झौता दुई देशबीचको पारवहन सन्धि संशोधनका लागि ‘लेटर अफ एक्सचेञ्ज’ आदान–प्रदान गरेर औपचारिक रूपमा सम्पन्न गरिएको हो।
मन्त्री सिन्हा भारतको विशाखापटनममा आयोजना भइरहेको ३०औं ‘पार्टनरसिप समिट २०२५’ मा सहभागी हुन जाने क्रममा नयाँदिल्लीमा भारतीय समकक्षीसँग भेटघाट गरेका थिए।
भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापारिक पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री सिन्हाले भारतसँगको व्यापार तथा पारवहन सहजीकरणका क्रममा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणीकरण प्रक्रिया सरल बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, व्यापार तथा पारवहनका बाँकी विषयलाई चाँडै निष्कर्षमा पुर्याउन दुवै देशबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने बताएका थिए।
त्यस्तै, भारतीय मन्त्री गोयलले नेपाललाई भारतको ‘छिमेकी पहिलो नीति’ (Neighbourhood First Policy) अन्तर्गत विशेष प्राथमिकतामा राखिएको बताए। उनले बाँकी रहेका विषयहरूलाई शीघ्र टुंगोमा पुर्याउन र सम्बन्धित द्विपक्षीय संरचना सक्रिय बनाउन निर्देशन दिएका छन्।

