मुगु, कार्तिक २५ — हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–८, चुगा गाउँस्थित दलित बस्तीमा रहेको श्री मालिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा सरसफाइका सामग्री वितरण गरिएको छ।

मुगुम कार्मारोङ गाउँपालिका–३, खारी गाउँ निवासी समाजसेवी धोर्चे कार्मारोङ र उनकी धर्मपत्नी पेमा लामु कार्मारोङले करिब १० हजार रुपैयाँ बराबरका सामग्री विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेका हुन्।
उनीहरूले वितरण गरेका सामग्रीमा कापी, सिसाकलम, इलिजर, डट पेन, कटर, साथै ब्रस, मञ्जन, हात धुने साबुन र कपडा धुने साबुन जस्ता सरसफाइ सामग्री रहेका छन्।
सदरमुकाम गमगढीबाट टाढा रहेको उक्त बस्तीका विद्यार्थीहरूलाई सानो स्टेशनरी सामान किन्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको समाचार केही दिनअघि नेपाल खोजखबर र मुगुखबर डट कममा प्रकाशित भएको थियो।
त्यही समाचारबाट प्रभावित भई समाजसेवी कार्मारोङ दम्पतीले विद्यालयमा पुगेर सहयोग गरेका हुन्।
विद्यालयका शिक्षक रामबहादुर विकले भने,
“आज विद्यार्थीहरूको हातमा कापी र कलम देख्दा हामी निकै हर्षित भएका छौं।
यस्तो सहयोगले विद्यालय र विद्यार्थी दुवैमा उत्साह थपेको छ।”
त्यसैगरी वडा सदस्य सञ्चौरा कामीले भनिन्,
“साँचिकै हाम्रा भगवान बनेर आउनुभयो। यो सहयोगले हाम्रा बच्चाहरूलाई करिब ६ महिनासम्म सहज अध्ययनमा सहयोग पुर्याउनेछ।”
मुगु जिल्लाका परिचित संगीतकर्मी र चित्रकार समेत रहेका धोर्चे कार्मारोङ हाल राजधानीमा बस्दै आएका छन्। उनी विगतदेखि नै विपत् र आवश्यकताका बेला सामाजिक सहयोगमा सक्रिय रहँदै आएका छन्।
यसअघि पनि समाजसेवी अक्कल बोहराले आफ्नो संस्था ‘अक्कलको फिला फाउन्डेसन’ मार्फत यही विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए।
स्थानीय अभिभावकहरूका अनुसार, यस्तो निरन्तर सहयोगले दुर्गम बस्तीका बालबालिकामा शिक्षाप्रति रुचि र उत्साह बढाएको छ।


