काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमको निधन भएको छ। कात्तिक दोस्रो सातादेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहनु भएका आलमको गए राति २ बजेर ५८ मिनेटमा मृत्यु भएको हो।

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार ६३ वर्षीय आलमको उपचारका क्रममा निधन भएको हो। हृदयघातका कारण अवस्था गम्भीर बनेपछि उनलाई केएमसीको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
आलमलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। यसअघि, गत जेठ महिनामा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोक समेत भएको थियो र त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो।
२०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो। सो मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजायँ सुनाएको थियो।
पूर्व सांसद आलमको निधनसँगै नेपाली कांग्रेस र रौतहट क्षेत्रका कार्यकर्तामाझ शोक फैलिएको छ।

