काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषमा संचित रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त रकममध्ये वाणिज्य बैंक (क वर्ग) मा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंक (ख वर्ग) मा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनी (ग वर्ग) मा १३ करोड ५९ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।
केन्द्रीय बैंकले यो लगानी २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्मका लागि ३६६ दिन अवधिको मुद्दति निक्षेपमा गर्ने जनाएको छ।
बैंक तथा वित्त संस्थाका लागि सर्तहरू
मुद्दति निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले निम्न सर्तहरू पूरा गर्नुपर्नेछः
संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम भएको हुनुपर्ने।
निष्क्रिय कर्जा (NPL) कुल कर्जाको ५ प्रतिशतभन्दा कम हुनुपर्ने।
खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा भित्र हुनुपर्ने।
कर्जा/निक्षेप अनुपात तोकिएको सीमाभित्र रहनुपर्ने।
अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्ने।
त्यसका साथै, जरिबाना भुक्तान नगरेका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्यरत रहेका संस्था पात्र हुने छैनन्। जरिबाना भुक्तान गरेको भए पनि कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाले पनि फुकुवा भएको ६ महिना पूरा गरेको प्रमाण पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा भएका संस्था वा सर्वसाधारणका लागि शेयर जारी नगरेका कम्पनीलाई यो लगानीको दायरामा नपर्ने जनाएको छ।
ब्याजदर प्रस्तावका लागि म्याद
मुद्दति निक्षेपका लागि ब्याजदर प्रस्ताव पठाउने अन्तिम म्याद कात्तिक २३ गते तोकिएको छ। सो म्यादभित्र योग्य बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्तावसहित निवेदन राष्ट्र बैंकमा पठाउनुपर्नेछ।
केन्द्रीय बैंकले यस्तो मुद्दति लगानीलाई वित्तीय प्रणालीको स्थायित्व, तरलता व्यवस्थापन र मुद्रास्फीति नियन्त्रणका दृष्टिले महत्वपूर्ण कदमका रूपमा लिएको बताएको छ।
