अर्घाखाँची कात्तिक १७ — अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ दुर्घाफाटमा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी खिदिमका अनुसार, साँझ करिब ७:४० बजे ऐर निगालीबाट दुर्घाफाटतर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी गाउँपालिका–४ निगालीका १८ वर्षीय गौतम बिक र सोही गाउँका २४ वर्षीय सागर बिकको टाउकोमा गम्भीर चोट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला अस्पताल सन्धिखर्क पुर्याइएपछि राति ८:२० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यस्तै, मोटरसाइकलमा सवार २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घर्तीको टाउकोमा चोट लागे पनि अवस्था मध्यम रहेको बताइएको छ ।
दुर्घटनास्थल प्रहरी चौकी खिदिमबाट करिब ७ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्ने जनाइएको छ । घटनास्थलमा प्रहरी सहायक निरीक्षक रेख ब. बुढाको कमाण्डमा रहेको चार जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
