मुगु । खेल जगतका पिता भनेर चिनिने जेपी मल्लको सम्झनामा आयोजना हुने जेपी स्मृति फुटबल कप भोलि बिहानदेखि सुरु हुने भएको छ। मुगु जिल्लाको खेलकुद क्षेत्रमा योगदान पुर्याएका जेपी मल्ललाई मुगुको उदयमान खम्बाका रूपमा हेरिन्छ।

शिक्षा पेशामा आबद्ध रहँदै करिब १६ वर्षसम्म शिक्षण कार्यमा सक्रिय रहेका जेपी मल्ल खेलकुदप्रेमी र समाजसेवीका रूपमा पनि परिचित थिए। उहाँले जीवनभर शिक्षा र खेलकुद दुवै क्षेत्रमा सकारात्मक सन्देश फैलाउँदै युवालाई प्रेरित गर्नुभएको थियो।
प्रतियोगिता आयोजक टिमका व्यवस्थापन समिति अध्यक्ष निपेन्द्र मल्लका अनुसार प्रतियोगिता भोलि बिहानदेखि औपचारिक रूपमा सुरु हुनेछ। उहाँले जिल्लाभित्रका साथै जिल्लाबाहिरका टोलीहरू पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो।
आयोजक समितिका अनुसार प्रतियोगितामा विजेता हुने टोलीलाई रुपैयाँ एक लाख एक हजार एक सय (रु. १,०१,१००) र उपविजेता टोलीलाई रुपैयाँ पचास हजार एक सय (रु. ५०,१००) पुरस्कार प्रदान गरिनेछ।
यस प्रतियोगिता सञ्चालनका लागि विदेशमा रहेका मुगुवासी युवाहरूले आर्थिक सहयोग गरेका छन् भने जेपी मल्लसँग निकट रहेका उहाँका साथीभाइ, आफन्त र शुभेच्छुकहरूले समेत सहयोगका हात अघि सारेका छन्।
समाजप्रतिको सकारात्मक सन्देश, युवाप्रतिको प्रेम र खेलकुदमा समर्पणका प्रतीकका रूपमा जेपी स्मृति कपले मुगुमा खेलकुदको विकासमा नयाँ ऊर्जा भर्ने विश्वास लिइएको छ।

