सुषमा काफ्ले धनकुटा — छथर जोरपाटी गाउँपालिकाले हालसम्म रहेका सबै अस्थायी र करार सेवाका नियुक्ति र सम्झौता खारेज गरेको छ ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै मन्त्रालयको निर्देशनअनुसार स्थानीय तहमा कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीहरूको नियुक्ति तत्काल प्रभावबाट रद्द गरिएको जनाएको हो ।
मन्त्रालयका पत्र र निर्देशना अनुसार अस्थायी नियुक्तिहरू र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीहरूको सम्झौता र नियुक्ति खारेज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
महिला तथा सामाजिक मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको २०८१/०६/१० गतेको पत्र र त्यसमा उल्लिखित बुँदाहरूको आधारमा निर्णय गरिएको जानकारी दिइएको छ ।
गाउँपालिकाले उक्त सूचना मार्फत सम्बन्धित सबैलाई जानकारीका लागि जारी गरेको छ र मन्त्रालयका निर्देशनका पत्रहरू पनि सो सूचनासँगै संलग्न गरिएको छ ।
गाउँपालिकाको सूचना अनुसार: “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत नभएका अस्थायी तथा करारका कर्मचारी राख्न नपाउने निर्देशन आएकोले गाउँपालिकाले अस्थायी नियुक्ति र करार सम्झौता दुवै खारेज गरेको हो।”

