काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि भदौ २४ गते देशभरि भएको हिंसात्मक गतिविधिलाई नेपालको इतिहासमै अकल्पनीय र अत्यन्त दुःखद घटना भएको बताएका छन्।

सोमबार विजयादशमीको शुभकामना सन्देश दिँदै देउवाले आन्दोलनका नाममा आपराधिक समूह सक्रिय भएको र त्यसले मुलुकलाई ठूलो धक्का पुर्याएको बताए।
उनले भने, “भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू, अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूका निजी घर–डेरा तथा सर्वसाधारणका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सार्वजनिक तथा निजी संरचनामा तोडफोड, आगजनी र लुटपाट भयो। यसबाट खर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ। नेपालको इतिहासमा यो अकल्पनीय र दुःखद घटनाका रूपमा रहिरहनेछ।”
देउवाले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे।
त्यस क्रममा आफू र पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि समेत आक्रमण भएको स्मरण गर्दै उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक आन्दोलनको मर्यादामाथि धक्का पुर्याएको टिप्पणी गरे।
संविधानकै बाटोमार्फत मुलुकका सबै जटिलताको समाधान हुने विश्वास व्यक्त गर्दै देउवाले भने, “सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकाङ्क्षा बमोजिम बनेको यो ऐतिहासिक संविधान नै मुलुकका सबै जटिलताको समाधान हो। यही संविधानमार्फत स्थिरता र प्रगति सुनिश्चित हुन्छ।”

