आज दिनभरका मुख्य समाचार

समाचार सारांश
Auto Generated by AI
  • देशभर भारी वर्षाका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन् भने रसुवागढी नाकामा सुरक्षा निकायले जोखिम मोलेर राष्ट्रिय झण्डा पुनःस्थापित गरेका छन्।
  • गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई यातना र दुर्व्यवहार गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ।
  • नेपाली टोली एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ, यता ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् भने वीरगञ्जमा जुवा खेल्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समाचार 

Workplace

१.विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकहरू प्रभावित भएका छन्।नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गमा यातायात सञ्चालनका लागि समयसीमा तोकिएको छ। मकवानपुरतर्फ त्रिभुवन राजपथ र कान्ति राजमार्गमा सवारी साधनको प्रकार अनुसार आवागमनको व्यवस्था मिलाइएको छ।नुवाकोटको टोखा-छहरे सडक खण्डमा वर्षाका कारण रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको छ भने रसुवा जाने मुख्य पासाङ ल्हामु सडक खण्ड त्रिशुली नदीको कटान र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यसैगरी, धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र चालिसेमा पहिरो तथा बाढीले सडक भासिएका कारण आवागमन पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेको छ।

देशका अन्य दुर्गम क्षेत्रहरूमा पनि मौसमको प्रतिकूलताका कारण यातायात अवरुद्ध भएको छ। मुगुको नाग्म-गमगढी सडक खण्ड र रोल्पाको सहिद राजमार्गमा पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, ललितपुरको कान्तिलोकपथमा बाटो भासिएर एक लेन मात्र सुचारु रहेको छ भने कालिकोटको गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

२. त्रिशूली नदीले बगाएर ल्याएका ग्यास सिलिन्डर घरमा प्रयोग गर्दा जोखिम हुन सक्ने भन्दै धादिङ प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर वा अन्य बहुमूल्य वस्तु फेला परेमा आफैं प्रयोग नगरी नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन माइकिङमार्फत आग्रह गरेको छ।बाढीका कारण नदीबाट बगाएर आएका सामग्री जोखिमपूर्ण हुन सक्ने भएकाले सुरक्षालाई ध्यान दिई त्यस्ता वस्तु नचलाउन र इमानदारीपूर्वक प्रहरीलाई बुझाउन प्रहरीले अनुरोध गरेको हो। धादिङ प्रशासनले पनि पछिल्लो समय नदी तथा राजमार्ग आसपास उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।

३.गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई यातना दिने, धरपकड गर्ने र दुव्र्यवहार गर्ने बैंक तथा वित्तिय संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ।मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले मिति भदौ १८ गते जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै त्यस्ता गतिविधि भए कारबाही गर्न निर्देशन दिएको हो।सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच भदौ ६ गते भएको सहमतिपत्रलाई १२ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दै कार्यान्वयनका लागि गृहलाई पठाएको हो मन्त्रिपरिषद्को निर्णयपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै धरपकड गरेमा उजुरी दिएर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो।गृह मन्त्रालयद्वारा जारी पत्रमा ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गाली बेइज्जती र दुव्र्यवहार गर्नेजस्ता गैरकानूनी कार्य गरेमा त्यस्ता कार्यउपर पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने छन्।

४.वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।गोलडेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।प्रहरीले जुवा खेलिरहेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको हो ।त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न चार कर्मचारी पनि प`क्राउ परेका हुन।

प`क्रा`उ पर्नेमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन्।उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले नेपाल खोज खबरलाई जानकारी दिए।

५.यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् ।पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेका छन् ।यो सिजन मनास्लुका आरोहीबाट १५ करोड ८७ लाख ५६ हजार २५० राजस्व सङ्कलन भएको छ । गोरखाको चुमनुब्री एक, सामागाउँमा रहेको आठ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ ।अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताउनुभयो । आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेसक्याप आउने उहाँले जानकारी दिनुभयो ।अहिले बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छ । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

६. रसुवाको टिमुरेमा रहेको नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।भोटेकोशी नदीमा आएको बाढीले सीमाक्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो शनिवार राष्ट्रिय झण्डा राखेको हो ।गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा रहेको नेपाल–चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो।भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ ।बाढीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन् ।

सीमामा राष्ट्रिय झण्डा पुनःस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट गएको टोलीले झण्डै तीन किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो । अत्यन्त कठिन र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच टोली सीमा नाकासम्म पुगेर झण्डा राख्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।बाढीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्‍याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनःस्थापित गरेको हो ।सीमा नाकामा राष्ट्रिय झण्डा पुनःस्थापनाले प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने सन्देश दिएको छ । बाढीपछि रसुवागढी नाकाको पूर्वाधार पुनर्निर्माण तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ ।भोटेकोशी नदीको बाढीबाट भएको क्षतिको पुनःनिर्माण र सीमा क्षेत्रमा आवागमन तथा सुरक्षा व्यवस्था सहज बनाउने काम अबका दिनमा थप चुनौतीपूर्ण हुने देखिन्छ।

७. इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ ।इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढेको अनाक क्राकाटाउ आज बिहान ३ बजेर ५३ मिनेटमा झण्डै ३० सेकेन्डसम्म विस्फोट भएको थियो । विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिमी इन्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ ।

विमानस्थल प्रशासनले स्थानीय समयअनुसार विहान साढे ५ बजेदेखि साढे ९ बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकिएको जनाएको छ । जकार्ता, बान्तेन, पश्चिम जाभा, लाम्पुङ र बेङ्कुलु प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ ।तर मानवीय क्षतिबारेको विवरण आएको छैन । स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा ३ किलोमिटर टाढा रहन त्यहाँका अधिकारीले आग्रह गरेका छन्।

८.पर्यटकीय क्षेत्र ठमेलको सडकमा युवतीमाथि दु र्व्यवहार गरेको आरोपमा एक युवक प क्राउ परेका छन् ।काठमाडौं उपत्यका अ पराध अनुसन्धान कार्यालयले ती आरोपीलाई शनिबार नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाडौं बुझाउने तयारी गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी दिलीप घिमिरेले आरोपीमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।केही दिनअघि ठमेलमा हिँडिरहेको अवस्थामा आफूमाथि अपरिचित युवकले संवेदनशील अ ङ्गमा छोएर दु र्व्यवहार गरेको भन्दै पीडित युवतीले मुन्स वर्ल्ड (moon’s world) नामक इन्स्टाग्राम ह्यान्डलबाट भिडिओ सार्वजनिक गरेकी थिइन् ।सीसीटिभी फुटेजसहित सार्वजनिक उक्त सामग्रीमा ती युवकले युवतीलाई संवेदनशील अ ङ्गमा छोएपछि भएको विवाद र पुरुषले आफ्नो गल्ती अस्वीकार गरेको दृश्य देखिन्छ ।पीडित युवतीका अनुसार उनी ठमेलको बाटो हुँदै आफ्नो घर फर्कँदै थिइन् । सोही क्रममा सडकमा हिँडिरहेका ती युवकले उनको सं वेदनशील अङ्गमा छोएर दु र्व्यवहार गरे । युवतीले तत्कालै ती रोकेर प्रतिवाद गर्दा उनले आफ्नो बचाउ गर्दै ‘मैले छोएको होइन, म त हात हल्लाउँदै हिँडिरहेको थिएँ’ भन्दै पन्छिन खोजेका थिए ।
अझ ती युवकले ‘तँ पनि इन्ट्रेस्टेड थिइस्, तैँले मसँग आँखा जुधाइस्’ भन्दै उल्टै आफूलाई नै दोषारोपण गरेको ती युवतीले बताएकी छिन् ।वरिपरि रहेका केही व्यक्तिहरूले पनि घटनाबारे चासो व्यक्त गरेको सीसीटिभी फुटेजमा देखिन्छ । तर ती युवक निरन्तर आफ्नो गल्ती अस्वीकार गरिरहेका थिए । युवतीले ठमेलकै होटेल थ्याङ्कीबाट सीसीटिभी फुटेज प्राप्त गरेपछि मात्र युवकको नियत र झुटो दाबी एकैपटक छताछुल्ल भएको थियो । फुटेजमा युवकलाई ती युवतीले हेरेकीसम्म थिइनन् भन्ने कुरा स्पष्ट देखिन्छ । तर युवकले नियतवश उनलाई छोएर दुर्व्यवहार गरेका थिए ।युवतीले आफू सुरक्षित नरहेको महसुस गर्दै र पछि बदला लिन सक्ने मनोवैज्ञानिक त्रासका कारण सुरुमा तत्कालै प्रहरीलाई खबर गर्न नसकेको बताएकी थिइन् । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएसँगै प्रहरीले सक्रियता देखाएर आरोपीलाई नियन्त्रणमा लिएको हो ।

९.मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार (सेमिफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेको हो।

नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ।साउदी अरबलाई १९० रनमा समेट्न सन्दीप लामिछाने (३/१९), दीपेन्द्र सिंह ऐरी (३/४३) र ललित राजवंशी (२/२६) ले उत्कृष्ट बलिङ गरे। जवाफमा १९१ रनको लक्ष्य नेपालले ईशान पाण्डे (४० रन), देव खनाल (३९ रन) र गुल्शन झा (अविजित ४४ रन) को उत्कृष्ट योगदानमा ४१ ओभरमै पूरा गर्‍यो।समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ।

१०. इजिप्टको एक अदालतले टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागूऔषध उत्पादन तथा ओसारपसारको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।३९ वर्षीया खलिफा सुरक्षा र अपराधसम्बन्धी विषयमा आधारित ‘मिसन इम्पोसिबल’ टिभी कार्यक्रमका लागि परिचित थिइन्। कायरो अदालतमा शनिबार सुनाइएको सजायप्रति प्रतिक्रिया जनाउँदै उनले ‘मैले मेरो जीवनमा कहिल्यै चुरोट पिएकी छैन। म भगवानको कसम खान्छु, म निर्दोष छु’ भन्दै कराएकी थिइन्।इजिप्टको राज्यसँग सम्बन्धित अल-अहराम पत्रिकाले खलिफालाई अवैध लागूऔषध उत्पादन र वितरणमा व्यापक भूमिका खेलेको आरोपमा ‘फाँसी दिएर मृत्युदण्ड’ सुनाइएको जनाएको छ। खलिफा र अन्य ११ जना प्रतिवादीलाई लागूऔषध उत्पादनमा प्रयोग हुने सामग्री खरिद गर्ने विशेषज्ञता हासिल गरेको संगठित आपराधिक गिरोह गठन गरेको आरोपमा फाँसी दिएर मृत्युदण्डको सजाय सुनाइएको छ,’ पत्रिकाले जनाएको छ, ‘उनीहरूको उद्देश्य लागूऔषध ओसारपसार गर्नुका साथै इजाजतपत्र नभएका हतियार र गोलीगठ्ठा राख्नु तथा बोक्नु पनि थियो।’अदालतले इजिप्टका ग्रान्ड मुफ्तीसँग धार्मिक राय लिएपछि यो फैसला सुनाएको हो। मृत्युदण्डका मुद्दामा यस्तो प्रक्रिया इजिप्टको कानुनले आवश्यक मानेको छ। तर फैसला पुनरावेदन गर्न सकिनेछ।खलिफासँग प्लास्टिक सर्जरी क्लिनिक र पार्टी तथा कार्यक्रम आयोजना गर्ने उत्पादन कम्पनी पनि छ।

राज्यद्वारा सञ्चालित अर्को अखबार अख्तर अल-यमका अनुसार प्रतिवादीहरूलाई ‘विदेशबाट उत्पादनमा प्रयोग हुने सामग्री आयात गरेर ओसारपसार गर्ने उद्देश्यले कृत्रिम लागूऔषध उत्पादन गरेको’ आरोप लगाइएको थियो। अधिकारीहरूले ७५० किलोग्रामभन्दा बढी लागूऔषध र कच्चा पदार्थ बरामद गरेका छन्।साथै प्रयोगशालाका रूपमा प्रयोग गरिएका दुई वटा अपार्टमेन्ट तथा इजाजतपत्र नभएका हतियार र गोलीगठ्ठा पनि फेला परेका थिए। अदालतले खलिफा र अन्यलाई एक युवकको अपहरण तथा आक्रमणसँग सम्बन्धित छुट्टै मुद्दामा पाँच वर्षको जेल सजाय पनि सुनाएको छ।इजिप्टमा पूर्वनियोजित हत्या, आतंकवाद, केही बलात्कारका अपराध र लागूऔषध ओसारपसारमा मृत्युदण्डको सजाय लागू हुन्छ। सन् २०२५ मा इजिप्टमा करिब ५४१ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।इन्स्टाग्राममा २५ लाख फलोअर्स भएकी खलिफाले सन् २०१६ मा इजिप्टका पूर्वफुटबल खेलाडी महमूद खाराबासँग छोटो समयका लागि विवाह गरेकी थिइन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?