रतन रावल मुगु — सुगम स्थानका नेताले सामान्य काम गर्दा पनि देशभर चर्चा पाउने अवस्था छ, तर विकट कर्णाली प्रदेशको मुगु जिल्लामा भने छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भाम आफ्नो श्रमदानकै कारण लोकप्रिय बनेका छन्।

युवावस्थामै वडा अध्यक्ष भएर श्रमदानमार्फत गाउँमा बाटो, पुल, धारो जस्ता कामको थालनी गरेका भाम अहिले नगर प्रमुख बनेपछि पनि हरेक शनिबार कोदालो, साबेल बोकेर श्रमदानमै जुट्छन्। कहिले बाटो–पुलपुलेसा निर्माण, कहिले यात्रुका लागि चौतारा र प्रतीक्षालय निर्माणमा खटिने उनी महिनाको अन्तिम शनिबार भने बजार सरसफाईमै सक्रिय हुन्छन्।

उनकै पहलमा गाउँगाउँमा खानेपानीका धारा, आरसीसी संरचना, विद्युत् प्रसारण लाइन पुगेका छन्। दलित दशैं भत्ता पनि उहाँकै पालामा सुरु भएको थियो। कर्णाली प्रदेशमै पहिलोपटक नगर बस सञ्चालन गर्ने श्रेय पनि भामलाई नै जान्छ।
गत शनिबार मात्र गमगढी सडकखण्ड नजिकै सदरमुकाम थापलचौरमा श्रमदानमार्फत प्रतीक्षालय निर्माण गरिएको छ। भामका अनुसार हालसम्म करिब तीन दर्जनभन्दा बढी खानेपानीका धारा श्रमदानमै बनेका छन्।

सुरुवातमा फोटो खिच्ने र सामाजिक सञ्जालमा हल्ला गर्ने मात्र भनेर आलोचना गर्ने युवाहरू पनि अहिले मेयरसँगै श्रमदानमा खटिन थालेका छन्। “समृद्धि नगरपालिका, सुखी नगरपालिका” भन्ने अभियानसहित एक रुख एक घर अभियान पनि सञ्चालनमा छ।
भामको श्रमप्रेमी शैलीले मुगु मात्र होइन, कर्णालीमै सकारात्मक उदाहरण स्थापित गरेको छ।

