
बिहीबार धार्मिक र ज्योतिषीय दृष्टिले निकै महत्त्वपूर्ण दिन मानिन्छ। यो दिन देवगुरु वृहस्पति र भगवान विष्णुको पूजा-अर्चना गरिन्छ। धन, विद्या, वैवाहिक जीवन र सन्तान सुखमा सुधार गर्न वृहस्पतिको कृपा आवश्यक मानिन्छ। तर, केही कार्यहरू छन्, जुन बिहीबार गर्न नहुने धार्मिक मान्यता छ। यी कार्यहरू न गर्नुले वृहस्पति ग्रह कमजोर हुने र जीवनमा अशुभता निम्त्याउने विश्वास गरिन्छ।
१. कपाल नुहाउन नहुने
विशेषगरी महिलाले बिहीबार कपाल नुहाउनु पतिको आयु र सन्तानको सुखमा बाधा पुर्याउने मानिन्छ। यो दिन कपाल नुहाउँदा पतिको स्वास्थ्य र दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ।
२. कपाल, दारी, रौं काट्न नहुने
बिहीबार कपाल वा दारी काट्दा वृहस्पति ग्रह कमजोर हुने धार्मिक मान्यता छ। यसले मानिसको दीर्घायुमा असर गर्न सक्छ।
३. नङ काट्न नहुने
यो दिन नङ काट्नुले पद प्रतिष्ठामा अवरोध आउने र आर्थिक संकट निम्त्याउने विश्वास छ। जागिर वा व्यवसायमा समस्याको संकेत पनि हुन सक्छ।
४. भारी कपडा धुनु र फोहोर फाल्न नहुने
बिहीबार घरबाट फोहोर फाल्दा वृहस्पतिको कृपा कमजोर हुने र आर्थिक समस्याहरू उत्पन्न हुने मानिन्छ। भारी कपडा धुनु र घरको सरसफाइ गर्नु अशुभ मानिन्छ।
५. केरा खानु नहुने
बिहीबार केरा खानु अशुभ मानिन्छ। यस दिन केराको बोटको पूजा गरी भगवान विष्णुलाई अर्पण गर्नुपर्ने मान्यता छ।
६. लक्ष्मीको मात्र पूजा नगर्नु
बिहीबार लक्ष्मी र नारायणको संयुक्त पूजा गर्नु उत्तम मानिन्छ। लक्ष्मीको मात्र पूजा गर्दा वैवाहिक जीवन र समृद्धिमा बाधा आउन सक्छ।
७. दक्षिण वा दक्षिणपश्चिम दिशामा पूजा नगर्नु
बिहीबार पूजा गर्दा दक्षिण वा दक्षिणपश्चिम दिशामा मुख फर्काउनु अशुभ मानिन्छ। यस दिशालाई नकारात्मक ऊर्जासँग जोडिन्छ।
८. नुन बारेर खाना खानु
बिहीबार नुन प्रयोग नगरी एक छाक सात्त्विक भोजन गर्नुपर्छ। नुन बार्नाले व्रतको महत्व बढ्ने र आत्मशुद्धि हुने मान्यता छ।
९. माकुराको जालो हटाउनु हुँदैन
बिहीबार घरमा माकुराको जालो हटाउनु अशुभ मानिन्छ। यसले घरमा धन र शान्तिको अभाव निम्त्याउने विश्वास छ।
१०. विवाद गर्नु वा गाली-गलौज नगर्नु
यो दिन कुनै पनि प्रकारको विवाद, झगडा वा अपशब्द प्रयोग गर्न वर्जित छ। यसले वृहस्पतिको अनुकूलता कमजोर गराउँछ।
धार्मिक महत्त्व:
बिहीबार देवगुरु वृहस्पति र भगवान विष्णुको दिन भएकाले यस दिन शुद्ध मन र सात्त्विक आचरणले दिन बिताउनुपर्छ। यस दिन व्रत लिई ‘ॐ गुरवे नमः’ मन्त्र जप गर्दा वृहस्पतिको कृपा प्राप्त हुन्छ।
यो दिन यी नियमको पालन गर्दा धन, ज्ञान, वैवाहिक जीवन र सन्तान सुख प्राप्त हुने विश्वास छ। विपरीत कार्य गर्दा भने अशुभता निम्त्याउने धार्मिक मान्यता छ।
