काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार पूरक परीक्षामा कुल १ लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् ।
पूरक परीक्षा गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म देशभरका परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो । नियमित परीक्षामा असफल भएकाहरूका लागि बोर्डले पूरक (ग्रेड वृद्धि) परीक्षा लिएको थियो ।
नतिजा बोर्डको आधिकारिक वेबसाइटसँगै विभिन्न एसएमएस तथा अनलाइन प्लेटफर्ममार्फत् पनि सार्वजनिक गरिएको छ । नतिजा हेर्नका लागि विद्यार्थीहरूले आफ्नो परीक्षा रोल नम्बर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईलाई विद्यालय तहको महत्वपूर्ण आधार मान्दै आएको छ । बोर्डका अनुसार पूरक परीक्षाको परिणामले विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा अघि बढ्न सहज बनाउने छ ।
