गुल्मी, — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कमिटीले ‘गुल्मी–काठमाडौं सम्पर्क मञ्च’ नामक कुनै संरचना आफ्नो पार्टीमा नरहेको स्पष्ट पारेको छ। नेकपा जिल्ला कमिटीले आइतबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा गुल्मी–काठमाडौं सम्पर्क मञ्च समाहित भएको भन्ने समाचारहरू भ्रामक र तथ्यहीन भएको दाबी गरेको हो।

विज्ञप्तिमा उल्लेख गरिएको छ, “हाम्रो पार्टीको काठमाडौंमा गुल्मी जिल्ला सम्बद्ध कुनै पनि सम्पर्क मञ्च छैन।” साथै, शनिबार माओवादी केन्द्रमा प्रवेश गरेको भनिएका व्यक्तिहरू नेकपाको कुनै पनि कमिटी, निकाय वा साधारण सदस्यसमेत नभएको स्पष्ट गरिएको छ।
नेकपाको विज्ञप्तिमा भनिएको छ, “वैचारिक रूपले पतन भई राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरमा बदनाम भइसकेको माओवादी केन्द्र (माके)ले नेकपाप्रति जनताको बढ्दो विश्वास र लोकप्रियता देखेपछि त्यसलाई कमजोर पार्ने नियतका साथ झूटा प्रचारहरू सुरु गरेको देखिन्छ।”
जिल्ला कमिटीका सचिव बसन्त सी र इन्चार्ज खोमा सीको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा यस्ता अनर्गल र कपोकल्पित प्रचारप्रति गम्भीर आपत्ति जनाइएको छ। विज्ञप्तिमा गुल्मीका जनसमुदायलाई यस्ता प्रचारमा नझुक्न आग्रह गरिएको छ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ‘विप्लव नेतृत्वको नेकपा’ अन्तर्गत क्रियाशील गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको दाबी गरेको थियो।
प्रचण्ड सचिवालयका अनुसार, विप्लवको नेतृत्व छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका व्यक्तिहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन्।
तर, नेकपा गुल्मी जिल्ला कमिटीले ती व्यक्तिहरू पार्टीको संरचनाभित्र नरहेको र उनीहरूको गतिविधि तथा दाबीलाई पूर्णतः अस्वीकार गरेको छ।
