बुटवल, जेष्ठ ९ – लायन्स क्लब अफ बुटवल इलाइटको सहयोगमा सञ्चालित SGA DCC प्रिमियर लिग २०८२ अन्तर्गत आज भएको लिगको छैठौ खेलमा मेगा राइनोजले जेके वारियर्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

बुटवल देवीनगरस्थित देवीनगर क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जेके वारियर्सले निर्धारित १५ ओभरको खेलमा ९ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। जेकेका कप्तान जनक न्यौपानेले आक्रामक शैलीमा २३ बलमा ३२ रन बनाए भने कमल रायमाझीले १४ रनको योगदान दिए।
मेगा राइनोजका बलरहरू प्रभावशाली देखिए। विशेषतः बालकृष्ण र निर्मल ज्ञवालीले घातक बलिङ गर्दै समान ३–३ विकेट लिएर जेकेको ब्याटिङ लाइन धराशायी बनाएका थिए।
८७ रनको लक्ष्य लिएर मैदान उत्रेको मेगा राइनोजले ९.५ ओभरमै बिना विकेटको क्षति लक्ष्य भेट्टाउँदै सानदार जित हासिल गर्यो। ओपनर निर्मल ज्ञवालीले २८ बलमा ४७ रनको विस्फोटक पारी खेले भने अर्का ओपनर अङ्गत बस्यालले २३ बलमा ३० रन बनाएर जित सहज बनाए।
दुई छेउबाट सशक्त प्रदर्शन गरेका निर्मल ज्ञवाली ‘म्यान अफ द म्याच’ घोषित भए।
भोलि शनिबार दुई खेल हुने SGA DCC प्रिमियर लिग अन्तर्गत भोलि शनिबार दुई खेलहरू आयोजना हुने खेल संयोजक अनिल पाण्डेले जानकारी दिएका छन्। प्रतियोगिता बुटवल क्षेत्रका युवाबीच खेलकुदको प्रवर्द्धन र मैत्रीपूर्ण सम्वन्ध विस्तार गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको छ।

