

रूपन्देही । बुटवल–११ स्थित देवीनगर क्रिकेट क्लबको आयोजनामा सुरु भएको ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ आज जेष्ठ ३ गतेदेखि भव्य रूपमा शुभारम्भ भएको छ। बुटवलमै पहिलोपटक अक्सन प्रणालीमार्फत आयोजना गरिएको यो लिगको उद्घाटन क्लबका अध्यक्ष तारा प्रसाद पाण्डेले गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि PMJF Lion अर्जुन मान सैंजु, Immediate Past District Governor, Lions District 325P रहेका थिए भने विशिष्ट अतिथिका रूपमा PMJF Lion बलराम भट्टराई, Governor Elect, Lions District 325P, र Lion अरुण कुमार ज्ञवाली, President, Lions Club of Butwal Elite को उपस्थिति रहेको थियो। उद्घाटन समारोहको सञ्चालन क्लबका सचिव निर्मल ज्ञवालीले गरेका थिए।
प्रतियोगिताको पहिलो खेलमा जेके वारियर्स र रोयल सिद्धार्थ आमनेसामने भएका थिए। टस जितेर रोयल सिद्धार्थले फिल्डिङ रोजेपछि, जेके वारियर्सले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ९९ रन बनायो। ब्याटिङमा कमल रायमाझीले ५५ रन र रोशन अर्यालले २० रनको योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा रोयल सिद्धार्थ १२.२ ओभरमै ७२ रनमा समेटियो। टिमका लागि कमल अस्लामीले २२ रन र अनिल पाण्डेले १८ रन बनाए भने अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा रन जोड्न असफल भए।
जेके वारियर्सका बलर ओम टण्डनले सर्वाधिक ३ विकेट लिँदै रोयल सिद्धार्थको ब्याटिङ लाइन ध्वस्त पारे। त्यस्तै, निरजले १ विकेट, रोशनले १ विकेट लिए।
सिद्धार्थका बलरहरू महेश, दिपेन्द्र र प्रकाश न्यौपानेले समान १/१ विकेट लिएका थिए।
२७ रनको शानदार जित हात पार्दै जेके वारियर्सले प्रतियोगिताको विजयी सुरुवात गर्यो। उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि कमल रायमाझी म्यान अफ द म्याच घोषित भए।
खेल संयोजक अनिल पाण्डेका अनुसार प्रतियोगिता १ महिनासम्म सञ्चालन हुनेछ। सहभागी चार टिमहरूमा जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज, र प्रिन्ट हब किङ्स छन्।
“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले युवाबीच खेलमैत्रीता र ऊर्जा सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। क्लब अध्यक्ष पाण्डेले प्रतियोगिता क्रिकेट मार्फत समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले आयोजना गरिएको जानकारी दिनु भयो।

