

रूपन्देही। बुटवल उपमहानगरपालिका–१३, देवीनगरस्थित देवीनगर क्रिकेट क्लबको आयोजनामा पहिलोपटक अक्सन प्रणालीमार्फत ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ आज जेष्ठ ३ गतेदेखि सुरु भएको छ।
बुटवलमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरी सञ्चालन गरिएको यो प्रतियोगिता आजको पहिलो खेलमार्फत औपचारिक रूपमा शुरु भएको हो। उद्घाटन म्याच बिहान ६ बजेदेखि जेके वारियर्स र रोयल सिद्धार्थ टिमबीच जारी छ।
प्रतियोगितामा जम्मा चार टिम — जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज र प्रिन्ट हब किङ्स — सहभागी छन्। खेल संयोजक अनिल पाण्डेका अनुसार खेल तालिका एक महिनासम्मका लागि तय गरिएको छ।
क्लबका अध्यक्ष तारा पाण्डेले खेल आयोजना गर्नुको उद्देश्य युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई व्यवहारमा उतार्नु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “युवाबीच आपसी मित्रता, अनुशासन र खेल भावना विकास गर्न यो लिगले सहयोग पुर्याउनेछ।”
क्लबका सचिव निर्मल ज्ञवालीका अनुसार बुटवलमै पहिलोपटक क्रिकेट टुर्नामेन्टमा अक्सन प्रणाली लागू गरिएको हो। अक्सनमार्फत टिमहरूले खेलाडी छनोट गर्दा निकै उत्साहजनक माहोल देखिएको थियो। अक्सनमा सबैभन्दा महँगो खेलाडीका रूपमा विपिन भट्टराईलाई २० हजार रुपैयाँमा रोयल सिद्धार्थले अनुबन्ध गरेको जानकारी दिनुभयो।
प्रतियोगिताको विजेता टिमलाई ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
स्थानीय तहमा यति व्यवस्थित ढंगले क्रिकेट प्रतियोगिता आयोजना गर्नु देवीनगर क्रिकेट क्लबको साहसिक कदम हो। खेलप्रेमीहरूलाई एकै ठाउँमा समेट्ने, युवाको प्रतिभा उजागर गर्ने र खेल संस्कृतिको प्रवर्द्धन गर्ने यस्ता पहलहरू आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

