काठमाडौं, वैशाख २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का सांसद ज्ञानेन्द्र शाहीले संसदमा सरकारमाथि कडा आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले वर्तमान सरकारलाई “भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्ड” भएको टिप्पणी गरे।

सांसद शाहीले भ्रष्टाचार, अनियमितता र निष्क्रियताको आरोप लगाउँदै सरकार जनताको विश्वास गुमाउँदै गएको उल्लेख गरे। उनले भने, “सरकार आफैं बिचौलिया र भ्रष्ट तत्वहरूको संरक्षणमा लागेको छ। न्याय, सुशासन र पारदर्शिता कायम गर्नुको साटो उल्टै जनताको गुनासो दबाउने प्रवृत्ति हावी हुँदैछ।”
उनले सञ्चार माध्यमहरूमा आएका अनियमितता तथा सरकारी निकायहरूमा देखिएको लापरवाहीका विषय उठाउँदै प्रश्न गरे, “किन यस्ता विषयमा सरकारले तुरुन्त कारवाही गर्दैन? सरकार किन मौन छ?”
शाहीले अझै थपे, “जनतालाई सेवामा सुविधा दिनुपर्ने सरकार उल्टै भ्रष्टाचारको केन्द्र बनेको छ। जुनसुकै मन्त्रालय लिउँ, बिचौलियाहरूको पहुँच र प्रभाव स्पष्ट देखिन्छ।”
ज्ञानेन्द्र शाही भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा चर्चित छन् र उनी सदनभित्रै निरन्तर रूपमा जनसमस्याबारे कडा रूपमा आवाज उठाउँदै आएका छन्। यसअघि पनि उनले विभिन्न सरकारी नीतिहरू र कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए।
