काठमाडौं, – नेकपा एमालेकी सांसद् बिजुला रायमाझीले आन्दोलनरत शिक्षकहरूको माग संविधानसम्मत र राज्यको स्रोतले भ्याउने गरी समाधान गर्न सरकार र शिक्षक दुवै पक्षलाई अधिकतम लचिलो हुन आग्रह गरेकी छिन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् रायमाझीले सरकारले विद्यालय शिक्षा ऐन छिटो ल्याउने स्पष्ट विश्वस्तता जनाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले भनिन्, “सरकारको नेतृत्वले पनि शिक्षाको मर्म भुलेको छैन र भुल्नु हुँदैन। तसर्थ संविधानसम्मत र स्रोतले भ्याउने हदसम्म दुवै पक्ष आजै वार्ताबाट आन्दोलन स्थगन गरी विद्यालय फर्किने वातावरण बनाउनुपर्छ।”
सांसद् रायमाझीले शिक्षक आन्दोलन २८ दिन लामो भइसकेको उल्लेख गर्दै, कुनै पनि आन्दोलनको शुरुवात सजिलो भए पनि अन्त्य सहज नहुने स्मरण गराइन्। उनले प्रधानमन्त्री र सभामुखलाई समेत अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिन्।
“२८ सालको शिक्षा ऐन बदल्न २८ दिने आन्दोलनले नयाँ इतिहास बनाओस्,” भन्दै उनले शिक्षकमाथि होसियार रवैया अपनाउन र संवेदनशीलताका साथ समस्याको समाधान खोज्न सरकारलाई दबाब दिइन्।
अर्कोतर्फ, उनले आन्दोलनलाई खुलेआम उचाल्ने र भड्काउने प्रयास भइरहेको आरोपसमेत लगाइन्। “शिक्षक, अभिभावक र आम जनमानसको मनोभावनाको कदर गरिनुपर्छ,” उनले भनिन्, “शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यसरी आगो लगाउनु दुःखद कुरा हो।”
हाल आन्दोलनरत शिक्षकहरू शिक्षा मन्त्रालयद्वारा प्रस्तावित नयाँ विद्यालय शिक्षा ऐनमा देखिएको संघीयता विरोधी, असमान सुविधा वितरण, र व्यवस्थापन अधिकारमा केन्द्रिकृतरणको विरोधमा आन्दोलनमा छन्। विद्यालय तहका शिक्षकहरूले शिक्षामा राजनीतिक हस्तक्षेप, असुरक्षा र असमान व्यवहार हटाउन माग गर्दै देशभर आन्दोलित छन्।
शिक्षा मन्त्रालयले शिक्षकका केही माग सम्बोधन गर्न प्रयासरत रहेको बताइरहेको भए पनि आन्दोलनकारीहरूले ठोस प्रतिबद्धता नभएसम्म आन्दोलन स्थगन नहुने बताएका छन्।
