काठमाडौं, २४ अप्रिल २०२५ — जम्मू–कश्मीरको पहलगाममा मंगलबार पर्यटकमाथि भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (CCS) को आपतकालीन बैठकले पाकिस्तानसँगको ऐतिहासिक सिन्धु जल सम्झौता खारेज गर्ने निर्णय गरेको छ।

सन् १९६० मा भारत र पाकिस्तानबीच विश्व बैंकको मध्यस्थतामा हस्ताक्षर भएको यो सम्झौताले सिन्धु नदी प्रणालीअन्तर्गत पर्ने छवटा नदीको पानी बाँडफाँड सम्बन्धी नियम तय गरेको थियो। यसअनुसार भारतलाई तीन पूर्वी नदी (व्यास, रावी र सतलज) को उपयोग गर्न दिने र पाकिस्तानलाई तीन पश्चिमी नदी (इन्दुस, झेलम र चिनाब) को प्रमुख उपयोगाधिकार दिने व्यवस्था थियो। भारतले भने हालको परिप्रेक्ष्यमा यो सम्झौता अव्यवहारिक भइसकेको भन्दै जल स्रोतको पूर्ण स्वामित्व उपयोग गर्ने अधिकार सुरक्षित गर्दै सम्झौता खारेज गरेको जनाएको छ।
यस निर्णयसँगै भारतले पाकिस्तानवासीहरूमाथि तत्काल प्रभावबाट भिसा प्रतिबन्ध लगाएको छ र ४८ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। साथै, भारतले पाकिस्तानस्थित आफ्नो दूतावास पनि बन्द गर्ने तयारी गरेको छ।
पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी नाका समेत भारतले बन्द गर्ने घोषणा गरेको छ, जसअन्तर्गत भारतीय र पाकिस्तानी नागरिकलाई मे १ सम्म नाका प्रयोग गरेर स्वदेश फर्किन अन्तिम अवसर दिइएको छ। पहलगाम आक्रमणको जिम्मेवारी ‘कश्मीर रेसिस्टेन्स’ नामक आतंकवादी समूहले लिएको छ, जसपछि भारतभित्र पाकिस्तानविरुद्ध चर्को जनआक्रोश बढेको छ। घटनापछि भारत सरकारले राष्ट्रिय सुरक्षा रणनीति पुनरावलोकनका लागि भोलि सर्बदलीय बैठक पनि बोलाएको छ।
