अनिल नेपाली अर्घाखाँची

अर्घाखाँची – नेपाल खेलकुद महासंघका प्रथम शहीद स्व. प्रकाश महतको सम्झनामा अर्घाखाँचीको सन्धिखर्कमा ऐतिहासिक रुपमा पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल खेलकुद महासंघ जिल्ला कार्यसमिति अर्घाखाँची र मञ्जरी युवा क्लब, सन्धिखर्क–०२ को संयुक्त आयोजनामा वैशाख १८ गतेदेखि सन्धिखर्क–०१ को टुडिखेल मैदानमा हुने प्रतियोगिता भव्य तयारीका साथ अगाडि बढाइएको मञ्जरी युवा क्लबका अध्यक्ष विक्रम नेपालीले जानकारी दिएका छन्।
प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाका टिमहरूले सहभागिता जनाउनेछन्। खेल लिग कम नकआउट प्रणालीमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन गरिनेछ। प्रत्येक टिममा १२ खेलाडीमध्ये २ जना अनुबन्धित खेलाडी राख्न पाइनेछ भने प्रशिक्षक र व्यवस्थापकसहित १४ जनासम्मको टोली बनाउने अनुमति दिइएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम वैशाख १८ गते दिउँसो १२ बजे हुनेछ भने खेलहरू बिहान ८ बजेबाट निर्धारित तालिका अनुसार सुरु हुनेछन्। टिमले खेल सुरु हुनुभन्दा ३० मिनेटअघि अनिवार्य रुपमा अफिसियल डेस्कमा रिपोर्ट गर्नु पर्नेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय र तृतीय टिमले क्रमशः रु ३०,००० र रु २०,००० सहित सम्मान प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीले रु ५,००० पाउनेछन्। उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही रु २,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
टिम दर्ता शुल्क रु ५,००० तोकिएको छ र टिम दर्ताको अन्तिम म्याद वैशाख १६ गते दिउँसो २ बजे सम्म रहेको छ। सहभागी खेलाडीले सम्बन्धित पालिकाको हुनु पर्नेछ र आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी प्रमाणपत्र अनिवार्य साथमा ल्याउनु पर्नेछ।
यदि खेल सम्बन्धी कुनै विवाद उत्पन्न भएमा मञ्जरी युवा क्लब र नेपाल खेलकुद महासंघको निर्णय अन्तिम हुने बताइएको छ। प्रोटेस्ट गर्न चाहनेले खेल सकिएको आधा घण्टाभित्र रु ५,५०० तिरेर निवेदन दिन सक्नेछन्। छानबिनपछि दोषी टिमलाई हार स्वीकार गराई विजेता घोषणा गरिनेछ।
यो प्रतियोगिता शहीद प्रकाश महतको स्मृतिमा युवा पुस्तालाई खेलतर्फ अभिप्रेरित गर्ने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ। खेलमार्फत गाउँस्तरमै खेलकुदको विकास र एकताको सन्देश फैलाउने आयोजकको उद्देश्य रहेको आयोजक समितिले जनाएको छ ।

