खोटाङ । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाले खोटाङ जिल्लामा कृषि क्षेत्र तहसनहस बनाएको छ । लगातारको वर्षाका कारण जिल्लाभर ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

जिल्लाका दशवटै स्थानीय तहमा गरी यस वर्ष कुल ९,९८८ दशमलव ०३ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । तीमध्ये ६,९९१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रहेका बालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो ।
उनका अनुसार, जिल्लाको १५ प्रतिशत धान थन्क्याउनका लागि काटेर ढालिएको, ४५ प्रतिशत पाकेर पहेंलो भएको र १० प्रतिशत अझै हरियो अवस्थाको बालीमा वर्षाले प्रत्यक्ष क्षति पुर्याएको हो ।
वर्षा रोकिएपछि किसानहरू बाँकी बाली जोगाउने र थन्क्याउने दौडधुपमा छन् । खेतभर पानी भरिएर काटिसकेको धान कुहिने, उम्रिने तथा बाँदरलगायतका वन्यजन्तुबाट जोगाउन किसानहरू चौबीसै घण्टा खटिएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मात्रै होइन, हलेसी तुवाचुङ, जन्तेढुङ्गा, बराहापोखरी, खोटेहाङ, दिप्रुङ चुइचुम्मा, साकेला, रावाबेँसी, केपिलासगढी, र ऐसेलुखर्क गाउँपालिकामा समेत ठूलो क्षति पुगेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्रै ४१ दशमलव ६३ हेक्टर धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगरपालिकामा ३,५०० हेक्टरमा धानखेती गरिँदै आएको र वार्षिक करिब ८,९९५ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
वडा नं ११, खार्मीका युवा कृषक हेमन्त राईका अनुसार, “वर्षाले काटेर आलीमा राखिएको धान कुहिएको छ, कतिपय ठाउँमा उम्रिएको पनि छ। अब भोकमरीको डर छ। सरकारले राहतको व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
हलेसी तुवाचुङ नगरपालिकामा पनि करिब १२० हेक्टरमा लगाइएको धानमध्ये ठूलो हिस्सा नष्ट भएको नगर प्रवक्ता कमल गिरीले बताउनुभयो ।
जन्तेढुङ्गा गाउँपालिकामा ४० प्रतिशत धानखेती डुबानमा परेको उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती गरिँदै आएको र करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।
बराहापोखरी गाउँपालिकामा भने क्षतिको दर अझ बढी रहेको छ । गाउँपालिका प्रमुख शालिकराम बञ्जराका अनुसार, “६० प्रतिशतभन्दा बढी धान नष्ट भएको छ।” गाउँपालिकामा ६५७ हेक्टर क्षेत्रफलमा धानखेती हुने र सामान्य अवस्थामा १,६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
खोटेहाङ गाउँपालिकामा पनि करिब ४० प्रतिशत धान नष्ट भएको प्रमुख **उदिमबहादुर राई ‘मुक्ति’**ले जानकारी दिनुभयो । नौ वडाको यो गाउँपालिकामा १,२०० हेक्टर क्षेत्रमा धानखेती हुने र औसत ३,०८४ मेट्रिक टन उत्पादन हुने गर्छ ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो ।
साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाहरूमा समेत धानबालीमा ठूलो क्षति पुगेको छ —
साकेला: ८ हेक्टरमा २,०५६ मेट्रिक टन उत्पादन
रावाबेँसी: ८५० हेक्टरमा २,१८४ दशमलव ५ मेट्रिक टन
केपिलासगढी: ७५० हेक्टरमा १,९२७ दशमलव ५ मेट्रिक टन
ऐसेलुखर्क: १,००० हेक्टरमा २,५७० मेट्रिक टन उत्पादन
जिल्लाभर करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो । तर, अविरल वर्षाले गर्दा सोमध्ये ठूलो हिस्सा क्षति पुगेकाले यस वर्ष जिल्लामा धान उत्पादन ऐतिहासिक रूपमा घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
वर्षा सुरुमा समयमै भएकाले किसानहरूले उत्पादन बढ्ने अपेक्षा गरेका थिए । तर, कटनीको अन्तिम चरणमै परेको अविरल वर्षाले किसानहरूको मेहनत बगाएको छ ।अब किसानहरू राहत र पुनःस्थापनाको आशामा सरकारको नजर पर्खिरहेका छन् ।

