अर्घाखाँची, – संस्कृत व्याकरणका प्रणेता पाणिनि ऋषिको सम्मानमा अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा यही चैत २७ र २८ गते भव्य पाणिनि सम्मेलन आयोजना हुँदैछ। यस ऐतिहासिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

लुम्बिनी प्रदेश सरकारको सहकार्यमा आयोजना हुन लागेको यो सम्मेलनले संस्कृत भाषा, संस्कृति, र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले बताएको छ । स्थानीय तथा अन्तर्राष्ट्रिय संस्कृतविद्, अनुसन्धानकर्ता, र धर्मसंस्कृतिमा रुचि राख्ने हजारौं सहभागीहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
पाणिनि ऋषि: संस्कृत व्याकरणका महान प्रणेता पाणिनि ऋषि अष्टाध्यायी नामक विश्वविख्यात व्याकरण ग्रन्थका रचनाकार हुन्। संस्कृत भाषालाई वैज्ञानिक रूपमा संरचित बनाउने श्रेय पाणिनिलाई दिइन्छ, जसले गर्दा आधुनिक भाषाविज्ञानमा पनि उनको योगदान अमूल्य मानिन्छ। ऐतिहासिक रूपमा, अर्घाखाँचीको पाणिनि तपोभूमिमा नै उनले आफ्नो ग्रन्थ रचना गरेको जनविश्वास छ। यस स्थललाई धार्मिक तथा शैक्षिक पर्यटन केन्द्रका रूपमा विकास गर्न पाणिनि सम्मेलन महत्वपूर्ण पहल सावित हुने बताइएको छ।
प्रधानमन्त्री ओलीको सहभागिता: संस्कृत प्रवर्द्धनप्रति सरकारको प्रतिबद्धता प्रधानमन्त्री ओलीको उपस्थितिले नेपाल सरकार संस्कृत भाषा, संस्कृति, तथा धार्मिक सम्पदाको प्रवर्द्धनमा गम्भीर रहेको सन्देश दिनेछ । सरकारद्वारा घोषित “धार्मिक पर्यटन प्रवर्द्धन अभियान” अन्तर्गत यो सम्मेलन महत्वपूर्ण मानिएको छ। स्थानीय तहका अगुवाहरूले यसलाई अर्घाखाँचीलाई धार्मिक तथा शैक्षिक पर्यटनको केन्द्र बनाउने अवसर रूपमा हेरेका छन्। पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने भन्छन्, “पाणिनि तपोभूमि नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय महत्त्वको धरोहर हो।” उनी केही दिन पोहिला प्रधानमन्त्री लाई प्रत्यक्ष भेट गरि उक्त कार्यक्रमको निमन्त्रणा समेत दिएका थिए ।
संस्कृत शिक्षा पुनःस्थापनाका लागि आवाज संस्कृत भाषा विज्ञहरू यो सम्मेलनलाई संस्कृत शिक्षालाई पुनःस्थापना गर्ने अवसर को रूपमा लिएका छन्। संस्कृतविद् प्रियम्वदा काफ्ले भन्छिन्, “संस्कृत भाषा हाम्रो सभ्यताको मेरुदण्ड हो। यसलाई पाठ्यक्रममा पुनः अनिवार्य बनाउन आवश्यक छ।”
धार्मिक पर्यटन र आर्थिक सम्भावना यस सम्मेलनले नेपाललाई धार्मिक पर्यटनको केन्द्र बनाउने सम्भावना उजागर गर्ने विश्वास गरिएको छ। पाणिनि ऋषिको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्दै, स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ । प्रधानमन्त्री ओलीको सहभागिता रहेको पाणिनि सम्मेलन संस्कृत भाषा, संस्कृति, तथा धार्मिक पर्यटन प्रवर्द्धनको कोसेढुंगा बन्ने विश्वास गरिएको छ। धार्मिक सम्पदाको जगेर्ना, शिक्षाको सुधार, र पर्यटन प्रवर्द्धनमा यो सम्मेलन ऐतिहासिक सावित हुन सक्ने अनुमान गर्न सकिन्छ ।

