अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा पौडी खेल्ने क्रममा दुई किशोरको ज्यान गएको प्रहरीले जनाएको छ ।

भूमिकास्थान-१०, धनचौरका जुद्धबहादुर नेपालीका १९ वर्षीय छोरा दिलीप नेपाली र मेघबहादुर नेपालीका १७ वर्षीय छोरा अशोक नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा साथीहरूसँग पौडी खेल्न गएका ६ जना मध्ये दिलीप र अशोक धेरै बेरसम्म पानी बाहिर नआएपछि साथीहरूले आफन्तलाई खबर गरेका थिए। खोजीकार्यपछि अचेत अवस्थामा फेला परेका उनीहरूलाई अर्घाखाँची अस्पताल ल्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद पौडेलका अनुसार घटनाको थप अनुसन्धान भइरहेको बताएका छ्न ।
