काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बीपी कोइरालाको सिद्धान्त बेचेर खान लागेको आरोप लगाएका छन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहीले देउवालाई कांग्रेसभित्र आन्तरिक चुनाव गराउन चुनौती दिएका छन्। साथै, उनले देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राप्रपाको सभापति बनोस्’ भन्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

शाहीले आफ्नो स्टाटसमा लेखेका छन्, “बीपीको सिद्धान्त मान्दै हुर्किएको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू। हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो?” उनले देउवालाई थप चुनौती दिँदै भनेका छन्, “सभापतिज्यू, यदि तपाईंलाई कांग्रेसको राजतन्त्रप्रतिको धारणा स्पष्ट पार्न मन छ भने पार्टीभित्र चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ?”
पूर्वप्रधानमन्त्री देउवाले आइतबार कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको टिप्पणी गरेका थिए। उनको यही भनाइलाई लिएर सांसद शाहीले तीव्र आलोचना गरेका हुन्। शाहीको दाबीअनुसार, देउवाले लोकतान्त्रिक सिद्धान्तहरूलाई धोका दिँदै कांग्रेसभित्र अधिनायकवादी प्रवृत्ति देखाएका छन्।
