फाल्गुन १९ अर्घाखाँची
स्थानीय कृषकहरूको आर्थिक सशक्तीकरण र पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले पाणिनी गाउँपालिका–२ पोखराथोकमा १००% शुद्ध बोयर बाख्रा वितरण गरिएको छ। कृषकहरूलाई २५% लागत साझेदारीमा सहभागी गराउँदै वडाध्यक्ष चन्द्रकान्त पौडेलको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।


वडाका साविक ७, ८ र ९ नम्बर क्षेत्रका कृषकहरूलाई लक्षित गरी गरिएको यो वितरण कार्यक्रममार्फत उच्च उत्पादन दिने बोयर जातका बाख्रा प्रदान गरिएको हो। बोयर जातको बाख्रा मासु उत्पादनका लागि उपयुक्त मानिन्छ, जसले छिटो तौल बढाउने, कम पोषणमा पनि राम्रो वृद्धि गर्ने र रोग प्रतिरोधी क्षमता बलियो हुने विशेषता राख्छ।
वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले स्थानीय स्तरमै आयआर्जनको दायरा फराकिलो पार्ने, कृषकहरूलाई आत्मनिर्भर बनाउन पशुपालनलाई आधुनिकरण गर्ने र बाख्रापालन व्यवसायिक रूपमा विस्तार गर्ने योजनाअनुसार यो कार्यक्रम ल्याइएको बताउनुभयो।

बोयर बाख्रा प्राप्त गरेका कृषकहरूले उनीहरूको आर्थिक स्थिति सुधार हुने अपेक्षा व्यक्त गरेका छन्। “परम्परागत बाख्रापालनमा जस्तो समस्या अब नआउने आशा छ। व्यावसायिक उत्पादनमा जोड दिँदा आम्दानी राम्रो हुनेछ,” एक स्थानीय कृषकले बताए।
यो कार्यक्रमले स्थानीय स्तरमा मासु उत्पादन वृद्धि गर्न सहयोग गर्ने, व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने र आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको छ।
वडाध्यक्ष पौडेलका अनुसार भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ। साथै, पशुपालन प्रविधि, पशु स्वास्थ्य र पोषणका विषयमा कृषकहरूलाई तालिम दिने योजना रहेको बताइएको छ।
१००% शुद्ध बोयर बाख्रा वितरण कार्यक्रमले स्थानीय कृषकहरूलाई उत्साहित बनाएको छ। पशुपालन क्षेत्रमा आधुनिक प्रविधि र उच्च उत्पादन दिने जातको प्रयोगले पोखराथोकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
वडामा कृषि प्रवर्द्धनका लागि कृषकहरूलाई कृषि औजार वितरण, अनुदान व्यवस्थापन, र घुम्ती शिविर सञ्चालन गरिएको छ। साथै, सडक निर्माण, खानेपानी पाइप वितरण, र जंगलका जनावरबाट खेती जोगाउन भोटे कुकुर वितरण जस्ता कार्यहरू सम्पन्न भएका छन्।
