पूर्वराजा ज्ञानेन्द्रको आह्वान : “राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुहोस्”

 

Workplace

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन सबै देशबासीलाई आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता, अनुशासन र इमानदार प्रयत्नको आवश्यकता रहेको बताए। शाहले राष्ट्रको रक्षा, पहिचानको संरक्षण र समृद्धिको मार्ग पहिल्याउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

उनले देशमा कुनै संकट नआओस् भनेर उदारता अपनाउँदै आफूले त्याग गरेको उल्लेख गर्दै भने, “त्यागले कसैको कद सानो हुने होइन, यसलाई कमजोरी नठानियोस्।” उनले नेपाल देशभक्त पूर्वजहरूले निर्माण गरेको सुन्दर राष्ट्र भएको उल्लेख गर्दै त्यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य रहेको बताए। इतिहास मेटिँदै गएको, युवाशक्ति विदेश पलायन भइरहेको, नेपालीको पसिना आफ्नै भूमिमा होइन, विदेशमा बगिरहेको र मुलुक आर्थिक सङ्कटमा फस्दै गएकोप्रति उनले गहिरो चिन्ता व्यक्त गरे।

पूर्वराजा शाहले प्रजातन्त्रले जनताको भरोसा बढाउने प्रणाली हुनुपर्ने बताउँदै निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने धारणा राखे। उनले भने, “व्यवस्था बदलियो भन्नेहरुले अवस्था सुधार्न नसक्नु दुःखद् कुरा हो।” उनका अनुसार सुन्दर शब्द र आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक नहुने र यसलाई व्यवहारमा लागू गर्न सेवा भाव तथा सही लोकतान्त्रिक आचरण आवश्यक पर्ने बताए। तीन दशकयताको अनुभवले प्रजातन्त्रले अपेक्षित सुधार गर्न नसकेको उल्लेख गर्दै उनले आम जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको धारणा राखे।

उनले विगतका त्रुटिहरू सच्याउँदै, राष्ट्रिय पहिचानको रक्षा गर्दै, सबै नेपालीलाई समेटेर देशको समृद्धि र स्थिरताको लागि अघि बढ्न जरुरी रहेको बताए। “अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निम्ति हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ,” उनले भने।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?