
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्प पीडितका नाममा भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन्। उनले वास्तविक घरधनीहरूको संख्याभन्दा धेरै लाभग्राहीलाई राहत रकम वितरण गरिएको भन्दै शंका व्यक्त गरेका छन्।
सांसदहरूसँगको प्रश्नोत्तर सत्रमा प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित क्षेत्रमा ३७ हजार घरधनी मात्र रहेको तथ्याङ्क रहेको बताउँदै ४८ हजार घरधनीलाई राहत वितरण गरिएको भन्दै अनियमितताको आशंका व्यक्त गरे। उनले प्रश्न गर्दै भने, ‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई राहत वितरण कसरी सम्भव भयो? के भएर यस्तो भयो?’
उनले सरकारबाट राहत वितरणको नाममा भइरहेको सम्भावित अनियमितताको छानबिन आवश्यक रहेको बताएका छन्। साथै, वास्तविक भूकम्प पीडितले पूर्ण राहत पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
