रुपन्देही – रुपन्देही जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको विशेष प्रहरी टोलीले छापा मार्दै ठूलो परिमाणको लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ४ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं. १५ मा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय दिपक तामाङ, ऐ.ऐ. बस्ने ३६ वर्षीय सुन बहादुर तामाङ, ३१ वर्षीय नक्कल बहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ, रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ आदर्शनगर बस्ने २५ वर्षीय जिबन मल्लाह, रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १४ बस्ने २३ वर्षीय दिलिप केवट र स्याङ्जा गल्याङ नगरपालिका वडा नं. १ बस्ने ३८ वर्षीय जिवनाथ पाण्डे रहेका छन्।
उनीहरूका साथबाट प्रहरीले २०.०७९ किलोग्राम चरेश जस्तो देखिने कालो पदार्थ, २१ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ र ८४ ग्राम पोल्याण्ड जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको र तस्करीको लागि विभिन्न स्थानमा ओसारपसार गर्दै आएको खुलेको छ।
लागुऔषध बरामद गरिएको स्थानमा प्रहरीको थप अनुसन्धान जारी रहेको छ भने पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरक्षक महेन्द्र सेनले नेपाल खोजखबर लााई जानकारी दिएका छ्न ।
