काठमाडौ – लोकप्रिय गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध कानुनी रूपमा टुंगिएको घोषणा गर्दै सामाजिक सञ्जाल फेसबुकमा अत्यन्त भावुक स्ट्याटस लेखेकी छन्। सम्बन्ध टुंगिए पनि विवाहका प्रतीकहरू—सिन्दुर, चुरा, र लगनगाँठो—उस्तै रहेको उल्लेख गर्दै उनले सम्बन्धको आत्मिक पक्ष भने समाप्त भइसकेको बताएकी छन्।

एलिनाले आफ्नो फेसबुक पोस्टमा विवाह केवल कानुनी प्रमाणपत्र वा शारीरिक सम्बन्ध मात्र नभएर विश्वास र समझदारीमा आधारित रहने उल्लेख गर्दै लेखेकी छन्,
“अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तर विवाह सिन्दुर, लगनगाँठो, विवाह दर्ता वा शारीरिक सम्बन्ध मात्र रहेनछ, मुख्य प्राण त आपसी विश्वास र समझदारी नै रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको उल्लेख गरेकी छ्न ।
उनले बाध्यताका कारण सम्बन्ध अन्त्य गर्नुपरेको उल्लेख गरे पनि त्यसको स्पष्ट कारण खुलाएकी छैनन्। सम्बन्ध टुंगिएको घोषणा गर्दै उनले विष्णुलाई बाँकी जीवनका लागि शुभकामना दिएकी छन्।
स्ट्याटसको अन्त्यमा उनले आफ्नो तर्फबाट पाउने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिका लागि छोड्ने निर्णय गरेको समेत उल्लेख गर्दै पोस्टको अन्तिममा लेखेकी छन्,
“पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेकि छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना, विष्णु।”
एलिनाको यो भावुक अभिव्यक्तिले सामाजिक सञ्जालमा उनका प्रशंसक र शुभचिन्तकहरूले उनलाई भावनात्मक सान्त्वना दिँदै नयाँ जीवनका लागि हौसला प्रदान गरिरहेको देखन सकिन्छ

