काठमाडौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछि आफ्नो पार्टी दलाल र बिचौलियाको घेरामा परेको स्वीकार गरेका छन्।

मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले अब माओवादी फेरि आफ्नै वर्ग र समुदायतर्फ फर्कने अभियानमा लागेको बताए। पार्टीका उपलब्धि, कमजोरी, र आगामी योजनाबारे जनतामाझ जाने अभियान सुरू गरिएको उल्लेख गर्दै उनले फेरि जनताको बलमा अघि बढ्ने प्रतिबद्धता समेत उक्त कार्यक्रममा जनाएका छ्न ।
‘क्रान्तिको बेला हामी जनताको काखमा थियौं, तर शान्ति प्रक्रियापछि दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो महसुस भयो,’ प्रचण्डले भने, ‘अब त्यो घेरा तोडेर सुशासन, सामाजिक न्याय, र समृद्धिको एजेन्डासहित अघि बढ्छौं। २०६४ सालको जनमत र हालको जिम्मेवारीबोधलाई मिलाएर देशलाई नयाँ उचाइमा पुर्याउनेछौं।’
उनले २०८४ सालमा २०६४ भन्दा बलियो जनमत प्राप्त गर्दै भ्रष्टाचारको जरै उखेल्ने लक्ष्य लिएको बताए। पार्टी एकता कायम राख्न नसकेको र आफ्नै वर्ग तथा समुदायबाट टाढा पुगेको स्वीकार्दै उनले अब तिनै वर्गका लागि संकल्पसहित अघि बढ्ने घोषणा समेत गरेका थिए।
