
- राज्य व्यवस्था समितिमा सांसदहरूले अख्तियारको निष्पक्षता र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्।
- ठूला भ्रष्टाचारका काण्डमा आयोग कमजोर देखिएको भन्दै सांसदहरूले कार्यकारीको प्रभावमा नपर्न सचेत गराए।
- प्रमुख आयुक्त राईले कुनै दबाब नरहेको र प्रमाणका आधारमा मात्र काम गरिरहेको दाबी गरेका छन्।
काठमाडौ – प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रे भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे ।
विशेषगरी राहदानी (पासपोर्ट) ठेक्का प्रकरणमा मुद्दा अघि बढाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौँ राखिएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति सांसदहरूले आक्रोश पोखेका थिए । संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखाजस्तो बन्न नहुने उनीहरूको भनाइ थियो ।
जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दाबी गर्नुभयो । राहदानी प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग नियमअनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत विना, प्रमाणका आधारमा मात्रै अभियोगपत्र दर्ता गरेको स्पष्ट पार्नुभयो ।
साथै जीवित रहेका पूर्वप्रधानमन्त्रीहरूविरुद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान गरिरहेकाे राईकाे भनाइ थियो ।
सांसदहरूले भने राजनीतिक प्रभाव र दबावभन्दा माथि उठेर काम नगरे संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन् ।
