सर्लाही – गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ-संस्थाहरूले सरकारलाई विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न आग्रह गरेका छन्।

सरकारले हालै विवाहको कानुनी उमेर १८ वर्ष बनाउने प्रस्तावसहितको अध्यादेश संसद्मा पेस गरेको छ। तर, सर्लाहीका १५ वटा सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिहरूले यस प्रस्तावप्रति असहमति जनाउँदै विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राख्नुपर्ने माग गरेका छन्।
गैसस महासङ्घको केन्द्रीय सदस्य लक्ष्मी सिंह नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा बालविवाहका कारण किशोर-किशोरीहरूको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा पर्ने गम्भीर प्रभावबारे चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा १८ वर्षको उमेरमा विवाह गर्ने व्यवस्था ल्याउँदा बालविवाह झन् बढ्ने खतरा रहेको भन्दै कानुनी रूपमा २० वर्षको सीमा नै उपयुक्त हुने उल्लेख गरिएको छ।
सामाजिक संस्थाहरूले बालविवाह न्यूनीकरणका लागि कानुनी सुधार मात्र नभई प्रभावकारी सचेतना कार्यक्रम आवश्यक रहेको पनि बताएका छन्।
