
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा सुधारको ठोस कार्ययोजना एक साताभित्र ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ब्रिफिङ कार्यक्रममा कार्यदलको प्रतिवेदनबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले “निरोगी नेपाल” निर्माणका लागि स्वास्थ्य सेवा पहुँचयोग्य र सबैका लागि उपलब्ध गराउन आवश्यक सुधारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
कार्यदलले स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत पक्षमा व्यापक सुधार आवश्यक रहेको निष्कर्षसहित सबै नागरिकलाई बीमा कार्यक्रममा अनिवार्य सहभागी गराउने र गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउन सुझाव दिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हालसम्म करिब ११ अर्ब भुक्तानी बाँकी रहेको, कूल जनसङ्ख्याको २७ प्रतिशत मात्र आबद्ध भएको, र उनीहरूमध्ये ४८ प्रतिशतले मात्र सेवा लिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कोषसँग एकीकृत गर्नुपर्ने सुझावसमेत दिएको छ।
प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रतिवेदनमा आधारित सुधार कार्यान्वयनमा कुनै ढिलाइ नगर्न निर्देशन दिनुभएको हो।
