काठमाडौं, माघ १ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक, अपारदर्शी र अप्राकृतिक भन्दै आलोचना गरेका छन्। उनले यो सरकार आफैँ ढल्ने दाबी पनि गरेका छन्।

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार गठनका क्रममा संविधानको मर्म र भावना उल्लङ्घन भएको आरोप लगाए।
“मलाई विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार सरकार गठन हुनुपर्ने थियो। तर, संविधान मिचेर दुई ठूला दलहरूले भ्रष्टाचारलाई संरक्षण दिन सरकार बनाएका हुन्,” प्रचण्डले भने।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको प्रक्रियामा ठूलो दबाब दिइएको भन्दै कांग्रेसको प्रधानमन्त्री बन्नुपर्ने अवस्था रहेको तर त्यसो हुन नसकेको टिप्पणी गरे।
“राष्ट्रपतिजी संविधानको धारा ७६ (३) अनुसारको सरकार बनाउन तयार हुनुहुन्थ्यो। तर, उहाँमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो। जनताले यो सरकारको उद्देश्य राम्रो नभएको प्रस्टै बुझिसकेका छन्,” प्रचण्डले भने।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका काममा सक्रिय रहेको बताउँदै, अहिलेको सरकार भने रातारात भ्रष्टाचारलाई संरक्षण गर्नका लागि बनाइएको आरोप दोहोर्याए।
उनले सरकारबाट हटेपछि जनतामाझ जाने अवसर पाउँदा आफूलाई सहज महसुस भएको पनि बताए।

