काठमाडौँ, — रसुवाको उत्तरी क्षेत्र टिमुरेमा भोटेकोशी नदीमा आएको भीषण बाढीले ठुलो मानवीय र भौतिक क्षति पुर्याएको छ। चीनतर्फको लगातार भारी वर्षापछि आइतवार बिहान करिब ३:१५ बजेको समयमा आएको लेदो र पहिरोसहितको बाढीले नेपाल–चीन सीमा जोड्ने महत्वपूर्ण मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका सवारी साधनहरू बगाएको छ।

प्राप्त जानकारीअनुसार टिमुरेस्थित भन्सार ड्राइपोटमा रहेका करिब १०० देखि १५० वटा मालवाहक गाडीमध्ये अधिकांश गाडी बाढीले बगाएको छ। बाढीका कारण नेपाल–चीन स्थलमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण सीमा क्षेत्रमा व्यापक क्षति भएको छ।
प्राप्त जानकारी अनुसार १६ जना बेपत्ता, ९ जना सकुशल उद्दार घटनामा अहिलेसम्म कम्तीमा १६ जना बेपत्ता भएको आशंका गरिएको छ। तीमध्ये तीन जना सशस्त्र प्रहरी, गाडी चालक, मजदुर र केही चिनियाँ नागरिक पनि रहेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा उद्दारमा खटिएका सुरक्षा निकायका अनुसार ९ जना व्यक्तिहरूलाई सकुशल उद्दार गरिएको छ भने अन्यको खोजी कार्य जारी रहेको जनाइएको छ ।
भन्सार, पुल र सडक संरचना पूर्णरूपमा क्षतिग्रस्त रसुवागढी नाकाको भन्सार भवन, पार्किङ यार्ड, गाडी चार्जिङ स्टेशन, हाइड्रोपावरलगायत संरचनाहरूमा ठूलो क्षति पुगेको छ। नदीले मितेरी पुललाई पूर्णरूपमा बगाएपछि रसुवागढी नाकाबाट हुने सम्पूर्ण आवत–जावत तथा व्यापारिक गतिविधि ठप्प भएको छ।
नेपाल–चीन व्यापार पूर्णरूपमा अवरुद्ध नेपालको एक प्रमुख व्यापारिक नाका मानिने रसुवागढी नाकाबाट दैनिक ठूलो परिमाणमा मालसामानको आयात–निर्यात हुने गर्दछ। पुल बगेपछि हाल व्यापार बन्द भएको छ, जसका कारण व्यापारीहरू लाखौंको क्षतिमा परेको बताएका छन्। कतिपय व्यापारीहरू भने सीमापारमै फसेका छन्।
उद्धार तथा राहतमा सुरक्षा निकाय सक्रिय घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत उद्धार टोलिहरू खटिइसकेका छन्। प्रदेश र केन्द्र सरकार दुवैले विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेका छन्। उद्धारका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको र अहिले फिल्ड्मा रहेको बताइएको छ।
स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भोटेकोशी नदीको बहाव अझै बढ्दो अवस्थामा रहेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। मौसम विभागले चीनतर्फ अझै वर्षा जारी रहने सम्भावना देखाएकाले थप सतर्कता आवश्यक भएको बताइएको छ।
