
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोन वार्ता गर्नुभएको छ।
परराष्ट्रमन्त्री देउवाले मुख्यमन्त्री माझीसँग लम्सालको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न, दोषीमाथि कडा कारबाही गर्न तथा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न आग्रह गर्नुभएको छ। परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार, कलेजले घटनामा संलग्न शिक्षक तथा कर्मचारीलाई बर्खास्त गरिसकेको छ। तर, मन्त्री देउवाले ती दोषीहरूलाई अस्थायी रूपमा मात्र नभई स्थायी रूपमा हटाउने पहल गर्न उडिसा सरकारसँग अनुरोध गर्नुभएको छ।
यस प्रकरणमा थप अनुसन्धान तथा नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि केआइआइटी विश्वविद्यालयले एक समिति गठन गरिसकेको छ। साथै, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारीसमेत समन्वयका लागि त्यहाँ खटिएका छन्। मन्त्री देउवाले उडिसा सरकार र नेपाली राजदूतावासबीच नियमित समन्वय सुनिश्चित गर्न मुख्यमन्त्री माझीसँग आग्रह गर्नुभएको छ।
मुख्यमन्त्री माझीले घटनालाई उडिसा सरकारले गम्भीर रूपमा लिएको बताउँदै लम्साललाई न्याय दिलाउन र दोषीमाथि कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन भइसकेको जानकारी दिनुभएको छ। साथै, उडिसा सरकारले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस प्रकरणमा परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास, उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीहरूबीच निरन्तर समन्वय भइरहेको छ।
