
म्याग्दी, फागुन १० – कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु १ अर्ब ४९ करोड अपचलन प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले थप एकजनालाई प`क्राउ गरेको छ।
बेनी नगरपालिका-४ का लोकेश पुनमगर पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार उनलाई अदालतमा पेस गरिँदा फागुन १३ गतेसम्मका लागि म्याद थप गरिएको छ।
प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई मङ्गलबार पक्राउ गरिएको जानकारी दिँदै, यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जना अभियुक्तहरूसँगै अदालतमा उपस्थित गराइने बताए।
पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार, झण्डै छ हजार बचतकर्ता रहेको कुमारी सहकारीमा भएको अर्बौं रुपैयाँ अपचलनका सम्बन्धमा सहकारी ऐन, २०७४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। पुन सहकारीका पूर्वसञ्चालक हुन्।
कुमारी सहकारी प्रकरणमा प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरिसकेको छ। अपचलनमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
