बुटवल — पोखरेल परिवारको मानवीय पहलमा करिब दुई लाख रुपैयाँ बराबरको न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। जाडोयामको कठ्याङ्ग्रिँदो चिसोलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व र सेवाभावका साथ बुटवल तथा आसपासका तीन संस्थामा आश्रित ८० जना असहाय अपाङ्ग तथा दृष्टिविहीन व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो।

कार्यक्रम अन्तर्गत नेपाल अपाङ्ग आश्रम, बुटवलमा ४३ जना, लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा ३१ जना तथा रुपन्देही नेत्रहीन संघमा ६ जना गरी जम्मा ८० जनालाई न्यानो कपडासँगै दाल, साबुन, सर्फ, मसला लगायतका करिब दुई लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्यामप्रसाद पोखरेलले असहाय, अपाङ्ग तथा दृष्टिविहीन व्यक्तिहरूको सेवामा समाजका सचेत नागरिक, परिवार तथा प्रवासी नेपालीहरूले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस्ता मानवीय कार्यले समाजमा करुणा, सहकार्य र सकारात्मक सोचको विकास हुने बताउँदै आफ्नो परिवारबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
जापानमा बसोबास गर्दै आउनुभएका खीमा पोखरेल र कपिल पोखरेलको आर्थिक तथा उहाँहरू भौतिक रूपमा नै उपस्थित भएर सहयोग कार्यक्रम सम्पन्न गरिएको हो। पोखरेल परिवार सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।
कार्यक्रम सफल बनाउन रूपलाल पन्थीले संयोजन तथा व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने मञ्जु पन्थीको सक्रिय सहभागिताले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
कार्यक्रममा सम्बन्धित आश्रम तथा संस्थाका पदाधिकारी र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहयोग प्राप्त गर्ने अपाङ्ग तथा दृष्टिविहीन व्यक्तिहरूले पोखरेल परिवारप्रति आभार व्यक्त गरेका थिए।

