अनिल नेपाली

अर्घाखाँची – स्थानीय सामग्रीबाट अर्गानिक खाना बनाउने तालिम आजदेखि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा सुरु गरिएको छ। कार्यक्रम वडा अध्यक्ष चुरा बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष केसीले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीबाट अर्गानिक खाना बनाउने तालिमले स्थानीयलाई आत्मनिर्भर र स्वरोजगार बनाउन मद्दत गर्ने बताए। उनले यस्ता कार्यक्रमले विशेष गरी महिला तथा जनजातिहरूलाई आर्थिक रूपमा सबल बनाउन योगदान दिने भएकाले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह समेत गरे।
१० दिनसम्म सञ्चालन हुने उक्त तालिममा स्थानीय १६ जनाको सहभागिता रहेको छ। वडा सचिव सीता बि.सी. पराजुलीका अनुसार तालिममा स्थानीय रूपमा उत्पादन हुने खाद्यान्न तथा तरकारीको प्रयोग गरेर अर्गानिक खाना बनाउन सिकाइने छ।
कार्यक्रममा वडा सदस्य डुकलाल पोखरेल, मिना ज्ञवाली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विक लगायतको उपस्थिति रहेको थियो।

