
काठमाडौं— संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ पेश गरिनेछ। त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुहुनेछ। यस विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले विरोधको सूचना दिएका छन्, जसलाई निर्णयार्थ पेश गरिनेछ।
त्यसैगरी, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। गृहमन्त्रीले यी विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्नुहुनेछ।
बैठकमा नागरिकता, प्रहरी संगठन र आर्थिक विधेयकहरूमाथि छलफल हुने भएकाले सांसदहरूको व्यापक चासो रहने अपेक्षा गरिएको छ।
